काठमाडौँ, जेठ २७ । कोरोना रोकथामका लागि लगाइएको लकडाउनबीचमा सार्वजनिक यातयात सञ्चालन हुने तयारी भएको छ ।
यातायात व्यवस्था विभागले सार्वजनिक सवारी सञ्चालनको तयारी थालेको हो। लकडाउनलाई बिस्तारै खुकुलो बनाउने तयारीसँगै यातायात व्यवस्था विभागले सार्वजनिक सवारी सञ्चालनका लागि निर्देशिका तर्जुमाको तयारी गरेको छ। कोरोनाबाट सुरक्षित रहेर सार्वजनिक सवारी सञ्चालन गर्न लागेको जनाइएको छ । यसबारे सरोकारवालासँग छलफल भइरहेको बताइएको छ ।

लकडाउनको समयमा सार्वजनिक सवारी सञ्चालन गर्नुपरे सामाजिक दूरी कायम हुनेगरी सञ्चालन गर्नुपर्ने र पहिलाजस्तै सबै सिटमा यात्रु राख्न नपाइने भएको छ । मास्क, पन्जा तथा स्यानिटाइजरको प्रयोग अनिवार्य गरिनेछ । निश्चित स्थानबाट मात्रै यात्रु चढाउने तथा ओराल्ने गरिनेछ ।
तर पहिलाको तुलनामा आधा यात्रु राख्ने भएपछि खर्चसमेत नउठ्ने यातायात व्यवसायीको भनाइ छ । त्यसका लागि सरकारले भाडा वृद्धि गर्नुपर्ने वा व्यवसायीलाई अनुदान दिनुपर्ने कुरामा पनि छलफल भएको नेपाल यातायात व्यवसायीले जनाएका छन् ।




