जाजरकोट, १३ जेठ । भेरी नगरपालिका–४ रानागाउँका नवराज विकले चार–पाँच दिनअघि नै आफ्ना मन मिल्ने साथीहरुलाई भनेका थिए, ‘१० गते केटी भगाउने हो, साथ दिनुपर्छ है !’
नवराजकै अगुवाइमा १८ जना युवाको टोली शनिबार दिउँसो १२ बजे रुकुम पश्चिमको चौरजहारी नगरपालिका–१ सोतीतर्फ हिँड्यो, जहाँ नवराजकी प्रेमिका थिइन् ।
टोलीका एक सदस्य सुदीप खड्काका अनुसार पैदल हिँडेको समूह साँझ करिब ५ बजे सोती पुगेको थियो । ‘दुई घण्टामै पुगिने बाटो भए पनि केटीले ५ बजे आउनु भनेकी हुनाले २–३ घण्टा बाटोमै अल्मलियौं,’ उनले भने, ‘नवराजले बाटोबाटै केटीसँग ‘टाइम–टाइम’ मा फोन सम्पर्क पनि गरिरहेका थिए ।’
नवराजको टोली साँझ करिब ५ बजेतिर केटीको घरभन्दा करिब ३० मिटर टाढाको दुरीमा पुग्यो । खड्काका अनुसार उनको परिवारका सदस्यले युवाहरु गाउँमा आएको थाहा पाइसकेका रहेछन् । केटीकी आमा प्रकाशी मल्लले ‘यो डुम किन आयो, अस्तिको चोटले पुगेनछ’ भन्दै गालीगलौज गर्न थालिन् ।
‘ठूल्ठूलो स्वरमा गाली गर्न थालेपछि हामीहरु केही नबोली तलतिर फर्कियौं,’ खड्काले भने, ‘नवराजलाई पनि अब केटी लिन सकिँदैन, घर फर्किऔं भनेर मनायौं ।’ टोलीले करिब १० मिनेट टाढाको नाउला भन्ने ठाउँमा पुगेर एउटा घरमा पानी मागेर पिउन थाल्यो ।

खड्काका अनुसार त्यहाँ रहेका अपरिचित व्यक्तिले ‘बाबुहरु बस्नुस्, काफल खानुहोस्’ भनेर अलमल्याए । यो व्यबहार षड्यन्त्र हुनसक्ने आकलनसहित टोली हतारहतार मध्यपहाडी लोकमार्गतिर लाग्यो । तर, पाँच मिनेटमै एक्कासी ५०/६० जनाको समूह आएर ढुंगामुढा गर्न थाल्यो । ‘हामीहरु जीउ जोगाउन भाग्दाभाग्दै गाउँलेले चारैतिरबाट घेरा हालेर ढुंगा, हँसिया र चिरपटले हान्न थाले,’ उनले कहालीलाग्लो क्षण सम्झिँदै भने, ‘हामीहरु ज्यान जोगाउन भागाभाग गर्न थाल्यौं ।’
युवाको समूहले नवराजलाई नचिनिने गरी लगेको थियो । तर, आक्रमणको तारो उनै बने । सोती गाउँदेखि आधा घण्टा टाढाको भेरी नदीसम्म लखेटेर नवराजको हत्या गरिएको अर्का युवा इन्द्रजंग शाहले बताए ।
उनका अनुसार गाउँलेले युवाको समूहलाई भेरी किनारतर्फ बाहेक अन्यत्र जान नपाउने गरी घेरा हालेका थिए । ‘हामीलाई बचाउनुस्, माफ पाऊँ भनेर हात जोड्दासमेत छोडेनन्,’ उनले भने, ‘भूईँमा लडाएर अन्धाधुन्द कुट्न थाले ।’ त्यसपछि को साथी नदीमा हाम फाले र को साथी पुल तरे भन्ने याद पनि नभएको उनले बताए ।
ज्यान जोगाउन भेरीमा हाम फालेकालाई पनि नदीमै पुगेर ढुंगा, हँसिया र चिरपटले प्रहार गरेका उनको भनाइ छ । अर्का युवा सरोज भँडेलले पनि कुटपिटबाट बच्न भेरीमा हाम फालेको बताए । नदी पार गरेपछि युवाहरुले थप कुटपिट गरेपछि प्रहरीले पक्राउ गरेर लिएको उनले बताए ।
घटना भइरहँदा करिब ६ बजेतिर प्रहरीको टोली पनि पुगेको थियो । तर, ‘बचाऊ बचाऊ’ भन्दै गुहार्दा पनि वास्ता नगरेका पीडित युवाले बताए । प्रहरीले सिटी बजाउँदै मान्छेलाई धपाएजस्तो गरेको खड्काले बताए । उनले यस्तो अवस्थामा ‘मरे पनि मरिन्छ’ भन्दै नदीमा हाम फालेको बताए । उनी पौडी खेलेर वारि (जाजरकोट) पट्टि पुगे पनि आक्रमणबाट बचेनन् । ‘गाउँका केटाहरुले यतै आएर कुटपिट गरे,’ उनले भने, ‘त्यसपछि प्रहरी आएर मलाई लगेर गयो ।’ चौरजहारी अस्पतालमा दुई दिन उपचार गरेपछि सोमबार घर फर्किएको उनले बताए ।
यतिविघ्न भइसक्दा साँझको करिब ६ बजेको थियो । ज्यान जोगाएका १२ जना युवालाई गाउँलेको सहयोगमा प्रहरीले नियन्त्रणमा लियो । टोलीमा सहभागी युवा शाह अन्य ६ जनालाई गाउँलेले कुटपिट गर्दै गम्भीर घाइते बनाएर भेरीमा धकेलेको बताउँछन् । ‘बेहोस हुने गरी कुटिएपछि साथीहरुले नदीमा पौडी खेल्न सक्ने कुरा पनि भएन,’ उनले भने, ‘त्यसपछि उनीहरुको हालत के भयो भन्ने त सबैले अनुमान लगाउन सक्छ ।’
भेरीमा बेपत्ता भएका ६ जनामध्ये ३ जनाको शव नदी किनारमा भेटिएको छ । भेरी नगरपालिका–४ का नवराजसहित सोही ठाउँका गणेश बुढा र पश्चिम रुकुमको चौरजहारी नगरपालिका–१ का टीकाराम सुनारको शब फेला परेको प्रहरीले जनाएको छ । अन्य तीनजनाको खोजी कार्य जारी रहेको जाजरकोटका प्रहरी प्रमुख डीएसपी किशोरकुमार श्रेष्ठले बताए । उनका अनुसार बेपत्ता हुनेमा भेरी नगरपालिका–११ का लोकेन्द्र सुनार, गोविन्द शाही र वडा नं. ४ का सन्दीप विक रहेका छन् ।




