काठमाडौँ, ७ जेठ । कोरोना भाइरस अर्थात् कोभिड–१९ बाट संक्रमित हुनेको संख्या विश्वमा ५० लाख नाघेको छ । कोरोनाबाट मृत्यु हुनेको संख्या भने ३ लाख २५ हजार नाघेको छ ।
विभिन्न तथ्याङ्क निकाल्ने संस्था वर्ल्डो मिटर्स डट इन्फोका अनुसार बुधबार दिउँसोसम्म विश्वर कोरोनाका कारण मृत्यु हुनेको संख्या ३ लाख २५ हजार १५६ पुगेको छ ।
अहिलेसम्म विश्वभर भाइरसबाट संक्रमित हुनेको संख्या भने ५० लाख ६३० पुगेको छ । कुल सङ्क्रमितमध्ये १९ लाख ७० हजारभन्दा बढी मानिस भने उपचारपछि निको भएर घर फर्किएका छन् । यो निको हुनेको संख्या ज्यान गुमाउनेको भन्दा ६ गुणा बढी हो ।

कोरोना संक्रमणबाट सबैभन्दा बढी संक्रमण र मृत्यु हुनेमा अमेरिका रहेको छ । अहिलेसम्म अमेरिकामा ९३ हजार ५३३ जनाको मृत्यु भइसकेको छ । संक्रमितको संख्या भने १५ लाख ७० हजार ५८३ पुगेको छ । संक्रमितमध्ये ३ लाख ६१ हजार १८० भने पूर्णरूपमा निको भइसकेका छन् । अहिले त्यहाँ ११ लाख १५ हजार बढीमा कोरोनाको सक्रिय रहेको छ । संक्रमितमध्ये १७ हजार २४८ अवस्था गम्भीर रहेको छ ।
कोरोना भाइरस संक्रमणमा रूस दोस्रो स्थानमा रहेको छ । अहिलेसम्म रूसमा ३ लाख ८ हजारभन्दा मानिसमा कोरोना भाइरस संक्रमण भइसकेको छ । त्यहाँ कोरोनाका कारण मृत्यु हुनेको संख्या भने २ हजार ९७२ मात्र छ । संक्रमितमध्ये ८५ हजारभन्दा बढी पूर्णरूपमा निको भएका छन् ।




