अस्ट्रेलियाको आगलागीमा ५० करोड जनावर मरेसँगै हजारौँ उँटलाई पनि गोली हानेर मारिने भएको छ । उँटलाई हेलिकप्टरबाट गोली हानेर मारिने छ ।
पानीको खोजीमा ठुलो सङ्ख्याको उँट सहर आउन थालेपछि घरमा नोक्सानी पुगेको भन्दै त्यहाँका आदिवासीले उजुरी दिएका थिए। स्थानीय मरिता बेकरले बिबिसीसँग भनिन्, ‘उँटहरू पानीको खोजीमा बाटोमा हिँडिरहन्छन्, बालबच्चाको सुरक्षाका निम्ति चिन्तित छौँ,’ ।

उँटको साथै केही छाडा घोडासमेत मारिने जनाइएको छ। उँटलाई मार्न अस्ट्रेलियाको जल तथा वातावरण विभागले निशानेवाज बोलाउने जनाइएको छ ।
अस्ट्रेलियाको जङ्गलमा आगलागीको कारण पानीको अभाव भएको छ । जसकारण जनावरहरू मानव बस्तीतिर जीवन रक्षाको लागि आउन थालेका छन् ।

जीवनको भिख माग्दै तित्तर बित्तर भएका जनावरलाई मारेर समाधान खोज्नु भने मानवीय होइन । एक त आगलागीमा परेर ५० करोड जनावरको विनाश हुनुले पृथ्वीकै जैविक विविधतामा घातक असर परेको छ । वातावरण विद्हरूका अनुसार जैविक विविधतामा खलबल भएपछि सिङ्गो पृथ्वीको वातावरणीय सन्तुलनमा अपूरणीय क्षति पुग्छ जुन मानव जातिको अस्तित्वमाथि नै प्रश्न जन्माउने प्रतिकूल परिस्थिति बन्छ ।

यसमाथि बचेखुचेका जनावरलाई माया र संरक्षण गर्नुको सट्टा झन् कथित समस्या देखाएर ताकी ताकी मार्नु सर्वश्रेष्ठ प्राणीको लागि कुन हिसाबले शोभनीय होला?
अस्ट्रेलियन सरकारले जनावरहरूको लागि वन जङ्गल क्षेत्रमै पानीको व्यवस्था गरेर तथा जनावरहरू मानव बस्तीमा आउनु नपर्ने जनावरमैत्री वातावरण निर्माण गरेर समस्याको समाधान गर्नुपर्छ ।

स्मरण रहोस्, धर्तीमा बाँच्ने अधिकार सबै प्राणीलाई उत्तिकै छ ।
यो पनि पढ्नुहोस्ः
अस्ट्रेलियाको आगलागीमा ५० करोड जनावर मरे
अस्ट्रेलियाको आगलागीमा ५० करोड जनावर मरे भनेर कसले भनेको हो?



