एसियाका तिमी तारा, नेपालका नि गौरव
अहिंसाका पुजारी हौ, हौ विश्व शान्ति सौरव
दया क्षमा करूणका, प्रतिमूर्ति धरोहर
ज्ञान प्राप्ति गरी छाड्यौ, तपस्वी ए मनोहर ।
बुद्ध तिमी प्रणेता हौ, बौद्घ संस्कार धर्मका
एक उज्ज्वल तारा हौ, नेपाल दिव्य धामका
बुद्घभूमि तपोभूमि, शान्तिभूमि मनोरम
ज्ञानभूमि चिनारी छ, नमुना यो सर्वोत्तम ।
प्रकृतिको बगैँचा छ, रङ्गीचङ्गी यहाँ जतै
वैरीभाव छँदै छैन, मित्रता छ जताततै
जात्रा पर्व कला धर्म, संस्कार छ विछट्टको
अपनत्व छ भाषामा, परिधान छ चट्टको ।
डाँफे मैना यहाँ नाच्छन्, कोइली गीत गाउँछन्
पासाङ भानु सीताजी, सत्मार्गमा हिँडाउँछन्
बुद्घभूमि हिजोआज, कुँजिएको छ बन्दले
अर्थतन्त्र भयो ध्वस्त, कोरोना नव रोगले ।
भोक शोक सबै बिर्सी, युद्घ लड्न तयार छौँ
बुद्घ साक्षी यहाँ राखी, अघि बढ्न तयार छौँ
इतिहास जितेको छ, हारेको छैन क्यै पनि
बलियो छ मनोकाङ्क्षा, मारेको छैन तैपनि ।

– खगेन्द्र दाहाल
रतुवामाई ६, मोरङ,
हाल: श्री विद्याधिश्वरी मा.वि. वागमती ६, आश्राङ, ललितपुर ।




