इरानका पाँच महिला फुटबलरलाई अस्ट्रेलियाले शरण दिने

`

     २०८२ फाल्गुन २६ गते २:०७

काठमाडौं, २६ गते । अस्ट्रेलियाले इरानको महिला फुटबल टोलीका पाँच खेलाडीलाई शरण दिने निर्णय गरेको छ। इरान फर्किएपछि सजाय हुन सक्ने डरका कारण उनीहरूलाई अस्ट्रेलियामा बस्न अनुमति दिइएको हो।

अस्ट्रेलियाका गृहमन्त्री टोनी बुर्कले सोमबार पत्रकार सम्मेलनमा ती खेलाडीलाई अस्ट्रेलियामा सुरक्षित रूपमा बस्न सक्ने जानकारी दिएको बताए। ‘खेलाडीहरू यहाँ सुरक्षित छन् र अस्ट्रेलियामै बस्न चाहे स्वागत छ’ उनले भनेका छन् ।

शरण पाउने खेलाडीहरूमा टोलीकी कप्तान जाहरा गनबारी, मिडफिल्डर फातेमे पसान्दिदे, जाहरा सर्बाली अलिसा, मोना हामोदी र डिफेन्डर अतेफे रामेजानिदे छन्।

यी खेलाडीहरू महिला एसियन कप फुटबल खेल्न अस्ट्रेलिया पुगेका थिए। प्रतियोगिताको पहिलो खेलअघि उनीहरूले इरानको राष्ट्रिय गान नगाएपछि उनीहरू विवादमा परेका थिए। इरानको सरकारी सञ्चारमाध्यमले उक्त कदमलाई ‘अपमानको चरम सीमा’ भन्दै आलोचना गरेको थियो।

अस्ट्रेलियाका प्रधानमन्त्री एन्थनी अल्बानिसले पाँच खेलाडीले सहयोग मागेपछि उनीहरूलाई सुरक्षित स्थानमा राखिएको बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?