काठमाडौँ, २८ माघ । बजारमा खाना पकाउने ग्यास (एलपीजी) को अभाव भएको गुनासो बढेपछि नेपाल आयल निगमले सर्वसाधारणका लागि टेकुस्थित कार्यालयबाटै ग्यास बिक्री वितरणको व्यवस्था मिलाएको छ ।
डिलरमा ग्यास नपाइएको भन्दै उपभोक्ताहरूले गुनासो गरेपछि निगमले बुधबारदेखि काठमाडौँको टेकुस्थित कार्यालय परिसरमा काउन्टर राखेर ग्यास बिक्री वितरण सुरु गरेको हो ।
निगमका प्रवक्ता मनोज ठाकुरका अनुसार विशेषगरी बजारमा अभाव देखिएका नेपाल ग्यास, एभरेस्ट ग्यास र सुगम ग्यासका उपभोक्ताहरूले टेकुबाट ग्यास लिन सक्नेछन् । बिहान १० बजेदेखि ४ बजेसम्म बिक्री वितरण हुने जानकारी दिएका छन्।






