येले संवत् गणनाको आधार
मिति २०८०–९–१९
१. येले संवत् ५०८३ को गणना आधार
येले संवत् ५०८३ को गणना आधारबारे विमर्श गर्दा प्रेम माबोहाङ समेतको पुस्तक संक्षिप्त नेपाल इतिहास मा “…यलम्बरहाङ किरात राजाले अहिर वंशी राज्य जिती कलियुग ४० वर्ष गत ९ जाँदा० नेपाल राज्य हात पारी…” भन्ने उल्लेख गरेको आधारमा हालको वि. सं. २०७९ को प्रचलित पात्रोमा कलि संवत् ५१२३ चल्दैछ। सोमा ४० वर्ष घटाई (५१२३ – ४० = ५०८३) आएको गणना अङ्कलाई नै येले संवत् ५०८३ भनी किरात याक्थुङ्ग चुम्लुङ (कियाचु) लगायत अन्य आदिवासी संघ संस्थाले समेत तथ्यातथ्यको सूक्ष्म एवम् गम्भीर विश्लेषण नगरी ‘अरे होरे’ कै भरमा दार्जिलिङबाट जसहाङ मादेन समूहले निकालेको येले संवत् क्यालेण्डरको गणना आधारलाई आँखा चिम्लेर पछ्याउने अन्ध परम्परा हालसम्म प्रचलनमा छँदैछ। कियाचुले बिचमा यो येले संवत् को गणना आधारमाथि व्यापक रूपमा छलफल गोष्ठी राखेको पनि हो। तर गहिा¥याइमा छलफल हुन नसक्दा सो छलफल आफैँमा अनिर्णयको बन्दी भई कैदमै छ भन्नुपर्ने होला। यस्तो गम्भीर विषय प्रति यत्रो समय बिती सक्दा पनि कियाचु अझै कानमा तेल हालेर बस्नु अपुङ्गीपनको नमुना उदाहरण नै हो।
२. येले संवत् ५३४४ को गणना आधार
भाषा वंशावलीमा उल्लेख छ, “द्वापर युग छँदै पूर्व दिशाबाट यलम्ब भन्ने किराँती राजा आई महिषपाललाई जितेर नेपालका राजा भए। यलम्ब – ९० वर्ष, यिनका पुत्र पवि – ७९/३ वर्ष, यिनका पुत्र धस्कन्द ३७ वर्ष, यिनका पुत्र चलंच ३१/६ वर्ष। यिनका राज्याभिषेक भएको १९ वर्षपछि कलियुगको पाउले छोयो, ५ वर्ष लाग्यो भनी चारै दिशाका ज्योतिषीले राजालाई बिन्ती चढाए (प्राचीन नेपाल – १३ को पृष्ठ ८,९ मा) ।
यो हिसाबले (९०+७९+३७+१९) – ५ = २२० वर्ष राजा यलम्ब समेत ४ पुस्ता राजाको भोग वर्ष चल्दा कलियुग सुरु भएको देखिन्छ। हाल वि. सं. २०८० मा कलि संम्बत् ५१२४ चल्दैछ । कलि संवत् ५१२४ + २२० वर्ष = ५३४४ अघि किरात राजा यलम्बको शासनकाल प्रारम्भ भएको देखिन्छ। हाल चलिरहेको येले संवत् ५३४४ हो । अब यो मकर संक्रान्तिदेखि ज्योतिषीय हिसाबले सूर्य उत्तरायण लाग्छ । अर्थात् वार्षिक क्यालेन्डर फेरिन्छ। येले संवत् ५३४५ सुरु हुन्छ । त्यसैले हजुरहरू सबैमा येलेदोङ ५३४५ को शुभकामना !!!
द्वापर युगका किराँती राजा यलम्बर, सत्ययुगदेखि कै दस पुस्ता चक्रवर्ती सम्राट् माङहाङ (किरातेश्वर देवांशी, आर्यावलोकितेश्वर,देव अवतार, त्रिकालदर्शी, साक्षात् नारायण अवतार , बुढा होङ, माङहाङ साममाङ) परम्पराका अन्तिम पुस्ता देव–राजा हुन् । माङहाङ साममाङ परम्परामा देवराजा स्वयं माङले चुन्ने हो । मान्छेले चुन्ने होइन । राजाको छोरा नै राजा हुने पनि होइन । यसको शेष अवशेष प्रमाण किरात समाजमा नाक्सो परम्परा छदैछ । नाक्सो मान्छेले छान्नु मिल्दैन, नाक्सोको छोरा नाक्सो पनि हुन सक्दैन । यलम्बर पछिका सबै किराँती राजाहरू आपुङ्गी, वंश–परम्पराका राजाहरू हुन्, देव– राजा होइनन् । आपुङगी किराति राजवंशपछिका लिच्छवी, ठकुरी, मल्ल, शाहवंश राजाहरू सबै आपुङगी, काम चलाऊ, माङहाङ (विष्णु÷देवराज) आसनका रुङालु, गोठालेहरू मात्र हुन् । विष्णु आसनमा बस्ने खास वास्तविक, उमेद्वार त आफैँआफ योग्य शिवअंश लिएर आएका व्यक्ति मात्र हुन सक्छन् ।यलम्बरको सत्ता ढल्नु नै द्वापर युगको बाँकी दुई अंश सत्य पनि सकिनु हो । यसैले यलम्बरको अन्त पछि मात्र कलियुगको आरम्भ मान्दा युक्तियुक्त ठहर्छ । यस पक्षमा अरू पनि पौराणिक, प्रागैतिहासिक, ऐतिहासिक, पुरातात्त्विक, मिथकिय ,भाषिक, आनुवंशिकी (जेनेटिक्स) आदि तथ्य प्रमाणहरू यथेष्ट छन् । हाललाई यति नै गरौँ ।
पुनः यहाँहरू सबैमा येलेदोङ ५३४५ को शुभकामना !!!




