काठमाडौं,सोमबार, मंसिर ४, २०८०। प्रधानमन्त्री ‘प्रचण्ड’ ले सोमबार विभिन्न विषयगत मन्त्रालय, राष्ट्रिय योजना आयोग, नेपाल राष्ट्र बैंकलगायत निकायसँग छलफल गरेका छन् । देशको आर्थिक अवस्था नसुध्रेपछि तनावमा परेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यो संकटबाट पार पाउन निरन्तर छलफलमा जुटेका हुन्। बाह्य आर्थिक सूचाकांकहरू सकरात्मक देखिए पनि आन्तरिक सूचाकांक नकरात्मक छन् । मुख्य समस्या उत्पादनमा कमी, लगानीकर्ता र उपभोक्ताको मनोविज्ञानमा देखिएको कमजोर आत्मविश्वासले अर्थतन्त्र चलायमान हुन सकेको छैन । निजी क्षेत्र र उपभोक्ताको मनोबल बढाउने गरी सरकारले आवश्यक कदम चाल्नुपर्ने अवस्था छ ।
प्रधानमन्त्री प्रचण्डले आर्थिक संकटबारे दलहरूसँग पनि छलफल गर्ने यसअघि नै बताएका थिए । त्यसअघि उनले क्षेत्रगत रुपमा छलफल गरी आवश्यक रणनीति बनाउन लागेका हुन् । उनले भोलि निजी क्षेत्रका प्रतिनिधिसँग छलफल गर्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । उद्योगी, व्यवसायीहरूको चिन्ताको विषयमा प्रधानमन्त्रीले उनीहरूलाई आस्वस्त पार्ने प्रयास गर्नेछन् । क्षेत्रगत छलफलपछि प्रधानमन्त्रीले सत्ता साझेदार दल र विपक्षी दलहरूसँग पनि छलफल गर्नेछन् ।



