लघुवित्तले २५ प्रतिशतसम्म लाभांश दिन पाउने, लाभांश निष्क्रिय कर्जामा भर पर्ने

`

     २०८२ भाद्र ०८ गते ६:४५

काठमाडौं, भदौ ८ । लघुवित्त वित्तीय संस्थाहरूले सेयरधनीलाई २५ प्रतिशतसम्म लाभांश वितरण गर्न सक्ने भएका छन् ।

यसअघि १५ प्रतिशतको सीमा रहेकोमा त्यसलाई केही फराकिलो बनाइएको छ । यसअघि घोषणा गरिएको चालु आर्थिक वर्षको मौद्रिक नीति कार्यान्वयनका लागि निर्देशन जारी गर्दै नियामक राष्ट्र बैंकले लघुवित्तलाई लाभांश वितरण सम्बन्धी नयाँ व्यवस्था गरेको हो ।

अब लघुवित्त वित्तीय संस्थाले दिने लाभांश निष्क्रिय कर्जामा भर पर्ने भएको छ । निष्क्रिय कर्जा ५ प्रतिशतभन्दा कम भएका लघुवित्तले २५ प्रतिशतसम्म लाभांश दिन सक्ने छन्।

त्यस्तै निष्क्रिय कर्जा ५ देखि १० प्रतिशतसम्म भएकाले २० प्रतिशतसम्म र १० देखि १५ प्रतिशतसम्म निष्क्रिय कर्जा हुनेले १५ प्रतिशतसम्म लाभांश दिन सक्ने व्यवस्था गरिएको छ ।

निष्क्रिय कर्जा १५ प्रतिशतभन्दा बढी भएकाले भने लाभांश वितरण गर्न नपाउने भएका छन् । पूँजीकोष अनुपात न्यूनतम ९ प्रतिशत कायम गरेकाले मात्रै नगद लाभांशको प्रस्ताव गर्न पाउने छन् ।

त्यस्तै तोकिएको चुक्ता पूँजी पुर्‍याउन नसकेका कम्पनीले कर प्रयोजनबाहेक नगद लाभांश दिन पाउने छैनन् तर बोनस सेयर दिन पाउने छन् ।

यसअघि लघुवित्त संस्थाले १५ प्रतिशतभन्दा बढी लाभांश वितरण गर्नुपरेको खण्डमा प्रस्तावित लाभांशको ५० प्रतिशत रकम साधारण जगेडा कोषमा र त्यसपछिको १५ प्रतिशत ग्राहक संरक्षण कोषमा जम्मा गर्नुपर्ने व्यवस्था थियो । यहीं व्यवस्थाका कारण लघुवित्तहरुले १५ प्रतिशत बढी लाभांश दिन सकिरहेका थिएनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?