अबको मुद्दा विकास र समृद्धिमा केन्द्रित हुनुपर्छः सञ्चारमन्त्री

`

     २०८० पौष ०१ गते १:३६

काठमाडौँ, १ पुस । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले विकास र समृद्धिका लागि केन्द्रित हुनुपर्नेमा मुलुक अझै पनि राजनीतिक एजेण्डामै अल्झिरहेको टिप्पणी गरेका छन् । गोरखापत्र संस्थानको प्रकाशन ‘दि राइजिङ नेपाल’को ५८औँ वार्षिकोत्सवका अवसरमा मन्त्री शर्माले अबको मुद्दा विकास र समृद्धिमा केन्द्रित हुनुपर्नेमा जोड दिए ।

विकास र समृद्धिमा लाग्नुपर्नेमा हामी अहिले पनि राजनीतिक मुद्दामै केन्द्रित भइरहेका छौँ । राजनीतिक दल, जनवर्गीय सङ्गठन लगायतले यो कुरा बुझ्न जरुरी छ । अहिले राजनीतिक परिवर्तनको मुद्दामा छैनौँ, उनले भने। उनले सञ्चारमाध्यमले पनि जिम्मेवारीपूर्वक भूमिका बहन गर्नुपर्नेमा जोड दिए । पछिल्लो समय सूचना–प्रविधि र सामाजिक चेतनामा आएको परिवर्तनका आधारमा हामी अगाडि बढ्न सक्नुपर्ने मन्त्री शर्माको भनाइ थियो ।

‘जनताको चाहना र आकाङ्क्षा सरकारसम्म पु¥याउने र सरकारले गरेका कामको जानकारी सर्वसाधारणलाई गराउने जिम्मेवारी सञ्चारमाध्यामको हो’, मन्त्री शर्माले भने, ‘सरकारी सञ्चारमाध्यमले सरकारको गुणगान मात्रै गाउँछन् भन्ने बुझाइ चिर्न जरुरी छ । जनताका आशा, अपेक्षा, गुनासाबारे सरकारलाई जानकारी दिने, जनताका आवाज बुलन्द गर्न सक्नुपर्ने र समाजमा जनचेतना फैलाउन सक्नुपर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?