भारतमा केजरीवाल पनि पक्राउ पर्न सक्ने,आप पार्टीका एक पछि अर्को नेता जेल जांदै

`

     २०८० कार्तिक १५ गते ८:१४

काठमाडौँ, कार्तिक १५ बुधबार । आम आदमी पार्टी अहिले आफ्नो अस्तित्वको लडाई लडिरहेको छ । भारतमा छोटो समयमा स्थापित भएको आम आदमी पार्टी केन्द्रमा रहेको भारतीय जनता पार्टी नेतृत्वको सरकारले आम आदमी पार्टीका एक पछि अर्को नेतालाई निशाना बनाउदै विभिन्न मुद्धामा जेल पठाएपछि आम आदमी पार्टीको भविष्य के हुन्छ भन्ने प्रश्न उठ्न थालेको छ । मनी लान्ड्रिंग मुद्दामा तत्कालिन उपमुख्यमन्त्री मनीष सिसोदियाको जमानत याचिका खारेजसँगै ईडीले मुख्यमन्त्री अरविन्द केजरीवाललाई पनि समन जारी गरेको छ । उनलाई दिल्ली सरकारको पुरानो अन्तःशुल्क नीतिसँग सम्बन्धित विषयमा सोधपुछका लागि बोलाइएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । केजरीवाल नोभेम्बर २ मा ईडीसमक्ष हाजिर हुनुपर्ने बताइएको छ । आम आदमी पार्टीकी नेता एवं दिल्लीकी मन्त्री आतिशीले केजरीवाललाई पक्राउ गर्न सक्ने आशंका व्यक्त गरेकी छन् ।

आम आदमी पार्टीका प्रवक्ता सौरभ भारद्वाजले केन्द्रले आम आदमी पार्टीलाई ध्वस्त पार्न खोजेको आरोप लगाएका छन् । केन्द्र सरकारका एजेन्सीहरूले केही समयदेखि आम आदमी पार्टीमाथि हमला गरिरहेको आरोप लगाउदै उनले आम आदमी पार्टीको अस्तित्व मेटाउन सरकार प्रयत्नशील रहेको बताएका छन् । दिल्लीमा आम आदमी पार्टी सरकारका तीन मन्त्रीहरू सत्येन्द्र जैन, मनीष सिसोदिया र सञ्जय सिंह दिल्ली रक्सी नीतिसँग सम्बन्धित मुद्दामा पक्राउ परेर हाल जेलमा रहेका छन् । अब ईडीले मुख्यमन्त्री अरविन्द केजरीवाललाई दिल्ली सरकारको पुरानो अन्तःशुल्क नीतिसँग सम्बन्धित सोधपुछको लागि समन जारी गरेपछि उनलाई पनि पक्राउ गर्न सक्ने आशंका गरिएको छ । राजनीतिक विश्लेषकहरुले अहिले भारतमा सत्तारुढ दल बिजेपीलाई चुनौती दिनसक्ने पार्टी आम आदमी पार्टी मात्र रहेकोले नरेन्द्र मोदीको सरकारले आम आदमी पार्टीका नेताहरुलाई निशाना बनाएको विश्लेषण गरिरहेका छन् ।

वरिष्ठ पत्रकार शरद गुप्ताले अदालतले बारम्बार दिल्ली एक्साइज नीतिसँग सम्बन्धित मुद्दामा ुमनी ट्रेलु को प्रमाण कहाँ छ भनेर सोधिरहेको तर अहिलेसम्म न त सीबीआई न ईडीले कुनै ‘मनी ट्रेल’ पेश गर्न सकेको छ भन्दै केन्द्र सरकारको नियतमा प्रश्न गर्छन् । नोभेम्बर २ मा अरविन्द केजरीवाललाई सोधपुछपछि हिरासतमा लिएमा पार्टीलाई ठूलो खतरा हुने आशंका पनि छ । किनभने अहिले पार्टीका लगभग सबै ठूला नेताहरु जेलमा छन् । यस्तो अवस्थामा आम आदमी पार्टीसामु कम विकल्प हुने छन् र पार्टीको भविष्य संकटमा पर्ने विश्लेषण हुन थालेको छ । अहिले भारतमा मध्य प्रदेश र राजस्थान चुनावको तयारी छ भने २०२४ मा आम निर्वाचन हुदै छ । आम आदमी पार्टी अहिले विपक्षी गठबन्धनमा रहेको छ । विश्लेषकहरुले २०२४ को निर्वाचनमा विपक्षीलाई कम्जोर बनाउने रणनीति अनुसार अहिलेको सबैभन्दा सफल पार्टीलाई बिजेपीले निशाना बनाएको बताउछन् । आम आदमीले अहिले दिल्ली र पन्जाबमा सरकार चलाइरहेको छ ।

लामो समयदेखि आम आदमी पार्टीलाई कभर गर्ने भारतीय पत्रकार कृष्णमोहन शर्माले आम आदमी पार्टीले सामना गर्ने खतरा निकै बढेको टिप्पणी गरेका छन् । कृष्णमोहन शर्मा भन्छन्( ुपार्टीका ठूला नेताहरू सत्येन्द्र जैन, मनिष सिसोदिया र सञ्जय सिंह जेलमा रहेका र अहिले पार्टीका संयोजक तथा मुख्यमन्त्री अरविन्द केजरीवाललाई ईडीले बोलाएकोले आम आदमी पार्टीलाई सीमान्तीकृत गर्ने खतरा छ ।ु उनी भन्छन्( ुस्रोतका अनुसार ईडीसँग अरविन्द केजरीवाल विरुद्ध यति धेरै प्रमाण छ कि उनलाई पक्राउ गर्न सकिन्छ ।ु यदि उनी पक्राउ परे भने यसले आम आदमी पार्टीको मेरुदण्ड भाँचिने छ । उनको स्थानमा केजरीवालकी पत्नी सुनिता केजरीवाल, सौरभ भारद्वाज वा आतिषीलाई मुख्यमन्त्री बनाउन सकिन्छ तर यसले फाइदा भने नगर्ने बताइन्छ । उनी भन्छन्( ुअरविन्दको गिरफ्तारीले आम आदमी पार्टीलाई गहिरो समस्यामा पार्न सक्छ । यी मध्ये कोही पनि दिल्लीको नेतृत्व गर्ने क्षमता छैन । यस्तो अवस्थामा अरविन्द केजरीवालको गिरफ्तारीसँगै आम आदमी पार्टी पतनतर्फ जान सक्छ भन्ने मान्न सकिन्छ ।ु सीबीआईले यस वर्ष अप्रिलमा केजरीवालसँग सोधपुछ गरेको थियो । तर, केजरीवाललाई सीबीआई एफआईआरमा आरोपी बनाइएको थिएन । अब ईडीले यस मामिलामा केजरीवाललाई बोलाएको छ । यस मामिलामा पूर्व उपमुख्यमन्त्री मनिष सिसोदिया र सञ्जय सिंहलाई पक्राउ गरिएको छ । सोमबार सर्वोच्च अदालतले यस मामिलामा सिसोदियाको जमानत याचिका खारेज गरेको थियो । केजरीवाललाई ईडीले जारी गरेको समनमा यस मामिलामा ३३८ करोड भारुको ‘मनी ट्रेल’ भएको प्रमाण रहेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?