काठमाडौँ,कार्तिक १३,सोमबार । आइतबार नेपाल भ्रमणमा आएकै दिन राष्ट्रसंघ महासचिव गुटेरेसले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल, पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर देउवा र केपी शर्मा ओली तथा सभामुख देवराज घिमिरेसँग भेटवार्ता गरेका छन् । सिंहदरबारमा प्रधानमन्त्री दाहालसँग भेटवार्तापछि गुटेरेसले पीडित परिवार र समुदायले समेत न्याय महसुस गर्ने गरी शान्ति प्रक्रिया टुंग्याउनुपर्ने बताए । ‘संक्रमणकालीन न्यायले पीडित परिवार र समुदायमा शान्ति ल्याउन मद्दत गर्नुपर्छ । पीडितका आवश्यकता पूरा गर्ने गरी प्रक्रिया विकास गर्न र त्यसलाई व्यवहारमा उतार्न सहयोग गर्न राष्ट्रसंघ तयार छ,’ उनले भने । राष्ट्रसंघीय मिसन अनमिनको मध्यस्थतामा थालिएको सेना समायोजन प्रक्रिया नेपाल आफैंले निष्कर्षमा पुर्याएको हो । तर, शान्ति प्रक्रियाको अन्तिम कामका रूपमा रहेको संक्रमणकालीन न्यायिक प्रक्रिया भने हालसम्म टुंगो लाग्न सकेको छैन । सरकारले सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता व्यक्तिको छानबिन आयोग गठन गरेको थियो । ती आयोग अहिले पदाधिकारीविहीन छन् ।
प्रधानमन्त्री दाहालले पत्रकार सम्मेलनमा महासचिवसँग उच्च विश्वास र सौहार्दपूर्ण वातावरणमा कुराकानी भएको उल्लेख गर्दै नेपालको शान्ति प्रक्रियालाई टुंगोमा पुर्याउन संयुक्त राष्ट्रसंघको सहजीकरणसमेत आवश्यक रहेको बताए । ‘शान्ति प्रक्रियाको मुद्दा पनि महामहिमको संसद् सम्बोधनका बेलामा महत्त्वपूर्ण एजेन्डा रहने भएकाले राजनीतिक दलहरूलाई सहमतिमा पुग्न र परिणाम दिनका लागि सकारात्मक दबाबको काम गर्छ भन्ने विश्वास लिएका छौं,’ भेटवार्तामा सहभागी परराष्ट्रमन्त्री एनपी साउदले भने । प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले भने महासचिव गुटेरेससँग प्रधानमन्त्री दाहालकै कारण शान्ति प्रक्रियालाई टुंगोमा पुर्याउन असहज भएको टिप्पणी गरेका छन् । संघीय संसद् भवनमा भएको भेटमा ओलीले दाहालले हिंसात्मक गतिविधिलाई महिमामण्डन गर्ने अभिव्यक्ति दिने गरेकाले शान्ति प्रक्रियालाई टुंगोमा पुर्याउन नसकिएको सुनाएका हुन् ।
प्रधानमन्त्री दाहालको माओवादी युद्व सुरु भएको दिनलाई दिवसका रूपमा मनाउने कामले शान्ति प्रक्रियामा असहजता थपिएको ओलीको टिप्पणी थियो । भेटमा सहभागी एमाले उपमहासचिव एवं पूर्वपरराष्ट्रमन्त्री प्रदीप ज्ञवालीका अनुसार महासचिव गुटेरेसले नेपाल र राष्ट्रसंघबीचको गहिरो मित्रतालाई थप मजबुत बनाउन आफू काठमाडौं आएको पनि बताए । ‘नेपाल शान्ति र बहुपक्षीयका पक्षमा लामो समयदेखि वकालत गरिरहेको देश हो,’ ओलीलाई उद्धृत गर्दै ज्ञवालीले भने, ‘बहुपक्षीय समाधानका लागि नेपालले गरेको योगदानका लागि संयुक्त राष्ट्रसंघ हार्दिक आभारी छ । शान्ति स्थापनाका लागि विश्वभरका शान्ति मिसनमा नेपालको उपस्थिति त्यसैको नतिजा हो ।’ त्यस्तै महासचिव गुटेरेससँगको भेटमा सभामुख देवराज घिमिरेले सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन आयोगसम्बन्धी विधेयक संसद्बाट चाँडै पारित हुने जानकारी दिए । दुवै आयोगसम्बन्धी विधेयक अहिले प्रतिनिधिसभाको संसदीय समितिमा छन् । ‘हामी निकट भविष्यमा नै ऐन निर्माण गर्नेछौं भन्ने आशा छ । नेपालले आफ्नो मौलिकता, राष्ट्रिय अपनत्वसहित आफैंले नेतृत्व गरी शान्ति प्रक्रिया निष्कर्षमा पुर्याएको स्मरण गर्दछु,’ महासचिवसँग सभामुखको भनाइ थियो, ‘नेपालको शान्ति प्रक्रिया पूरा गर्न अनमिनको मध्यस्थताले ठूलो सहयोग गरेको थियो ।’ पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटवार्तामा पनि संक्रमणकालीन न्यायलाई छिटो निचोडमा पुर्याउने विषयमा छलफल भएको थियो । नेपालको शान्ति प्रक्रियामा राष्ट्रसंघले गर्दै आएको सहयोगलाई लिएर देउवाले महासचिवलाई धन्यवाद दिएको बैठकमा सहभागी परराष्ट्रमन्त्री साउदले बताए ।
महासचिव गुटेरेसलाई साउदले आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए । साउदले महासचिव गुटेरेसलाई अहिलेको जटिल अन्तर्राष्ट्रिय परिस्थिति र द्वन्द्वका बेलामा नेपाललाई महत्त्व दिएर आएकामा धन्यवाद दिएको जानकारी दिए । ‘राष्ट्रसंघ र नेपालबीच सुरुवातदेखि नै गहिरो सम्बन्धसहित साझेदारीमा अगाडि बढिरहेको छ । नेपालको पराष्ट्र नीतिको महत्त्वपूर्ण सिद्धान्तमध्ये एउटा राष्ट्रसंघको बडापत्रमा आधारित सिद्धान्तहरू पनि रही आएका छन्,’ साउदले भने ।
लामो समयदेखि नेपालको विकास साझेदारका रूपमा रहेको संयुक्त राष्ट्रसंघलाई नेपालले उच्च प्राथमिकता तथा महत्त्वमा राखेको उल्लेख गर्दै राष्ट्रपति पौडेलले धन्यवाद दिएका छन् । ‘राष्ट्रपतिले संयुक्त राष्ट्रसंघ तथा यसअन्तर्गतका विशिष्टीकृत एजेन्सी, कोष तथा कार्यक्रमले नेपालको सामाजिक, आर्थिक विकास एवं दिगो विकास लक्ष्य प्राप्तिमा पुर्याएको निरन्तर सहयोग र योगदानका लागि धन्यवादसमेत व्यक्त गर्नुभयो,’ राष्ट्रपति कार्यालयले भनेको छ । महासचिव गुटेरेसले जलवायु परिवर्तनबाट नेपाललाई परेको असरप्रति चासो प्रकट गरेका छन् । उनले यो भ्रमणमा जलवायु परिवर्तनको नकारात्मक प्रभाव आफैं हेर्न हिमालय क्षेत्रमा जाने पनि बताए । प्रधानमन्त्री दाहालसँगको संयुक्त पत्रकार सम्मेलनमा पनि महासचिव गुटेरेसले नेपालले ३ दशकमा एक तिहाइ हिउँ गुमाएको बताउँदै यहाँका हिमनदीहरू उच्चदरमा पग्लिरहेको प्रति चिन्तासमेत प्रकट गरे । ‘समुदायहरूमा जलवायुको प्रभाव विनाशकारी छ, म हिमालयमा बस्ने स्थानीयहरूको कुरा सुन्न उनीहरूलाई भेट्नेछु । उनीहरू कसरी प्रभावित छन् भनेर प्रत्यक्ष रूपमा बुझ्नेछु,’ उनको भनाइ थियो ।
विकसित देशहरूले नेपालजस्तो राष्ट्रलाई कोभिड–१९ महामारी, मुद्रास्फीति र जलवायु परिवर्तनले निम्त्याएको ठूलो खतरासँग जुध्न मद्दत गर्नुपर्ने पनि महासचिव गुटेरेसले बताए । उनी सोमबार सोलुखुम्बुको स्याङ्बोचे र मंगलबार अन्नपूर्ण पदमार्ग जाँदै छन् । परराष्ट्रमन्त्री साउदले हिमालमा वातावरणीय जलवायु परिवर्तनले हिउँ पग्लने, हिमताल फुट्ने, बाढी आउनेजस्ता परिवर्तन भइरहेको उल्लेख गर्दै यसको असर नेपालमा मात्रै नभएर समुद्रसम्म पनि परिरहेको बताए । उनले सोही कारणले पनि महासचिवको भ्रमण महत्त्वपूर्ण भएको बताए । ‘महासचिवको अन्नपूर्ण र सगरमाथा आधार शिविरको भ्रमणले विश्वको ध्यान हिमाली क्षेत्रमा आकर्षित हुनेछ भन्ने विश्वास लिएका छौं,’ उनले भने ।
महासचिव एन्टोनियो गुटेरेसले गाजा क्षेत्रमा भइरहेको बमबारीका कारण २० लाख सर्वसाधारणको जीवन संकटमा परेको भन्दै आक्रमण तत्काल रोक्न अपिल गरेका छन् । ‘संसारले हाम्रो आँखा अगाडि मानवीय प्रकोप देखिरहेको छ । २० लाखभन्दा बढी मानिस बाँच्नका लागि खाना, पानी, आश्रय र चिकित्सा हेरचाहबाट वञ्चित गरिएको छ,’ नेपाल भ्रमणमा रहेका गुटेरेसले पत्रकार सम्मेलनमा भने, ‘गाजाका मानिसहरूको मानवीय सहयोगका लागि पनि युद्धविराम जरुरी छ ।’ उनले गाजा क्षेत्रको आक्रमण झन् भयावह बन्दै गइरहेको उल्लेख गर्दै उक्त कदमप्रति खेद प्रकट गरे । ‘मानवीय सहायताका लागि पनि विश्राम जरुरी छ तर इजरायलले आक्रमण गरिरहेको छ, यसप्रति खेद प्रकट गर्दछु,’ उनले भने । गुटेरेसले सबै पक्षहरूले अन्तर्राष्ट्रिय मानवीय कानुनअन्तर्गत आ–आफ्नो दायित्वहरूको सम्मान गर्नुपर्ने बताए । हमासले गरेको आक्रमणको भर्त्सना गर्दै उनले नेपालका विपिन जोशीसहित सबै बन्धकलाई बिनासर्त रिहाइ गर्न माग गरेका छन् । निहत्थामाथिको आक्रमण कुनै पनि अवस्थामा न्यायोचित नहुने उल्लेख गर्दै उनले भने, ‘धेरै माइल टाढाको मध्यपूर्वमा भएको द्वन्द्वले नेपालका जनतालाई पनि नजिकबाट प्रभावित पारेको छ, हमासले गरेको आतंकपूर्ण आक्रमणबाट १० जना नेपाली विद्यार्थीहरू मारिएको घटनाप्रति उनीहरूका परिवारजनमा मेरो गहिरो समवेदना छ र हराइरहेका विपिन जोशी सुरक्षित रूपमा फर्किन्छन् भन्ने कामना गर्दछु ।’




