काठमाडौं,शनिबार, कात्तिक ११ । गाजामा इजरायलसँग संघर्षका बीच हमासको प्रतिनिधिमण्डल २६ अक्टोबरमा रुस पुगेको थियो । इरानका मन्त्री पनि त्यो प्रतिनिधिमण्डलमा थिए । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका विशेष दूत मिखाइल बोगदानोभ र विदेश मामिलाका उपमन्त्री उक्त बैठकमा भेला भएका थिए । इजरायलले भने बैठकको विरोध गरेको छ । इजरायलको विदेश मन्त्रालयले रुस सरकारसँग ‘आतंकवादी’ लाई तुरुन्तै बाहिर निकाल्न आह्वान गरेको छ । यो विषयमा रुसको प्रतक्रिया पनि बाहिरिएको छ । रुसले इजरायल-प्यालेस्टाइन युद्धमा सबै पक्षसँग सम्पर्क बनाउन आवश्यक रहेको बताएको छ । क्रेमलिनका प्रवक्ता त्रिदित्री पेसकोभका अनुसार, प्रतिनिधिमण्डलले रुसी विदेश मन्त्रालयका प्रतिनिधिसँग भेट गरेको थियो तर क्रेमलिनसँग उनीहरूको कुनै सम्पर्क छैन । हमास प्रतिनिधिमण्डललाई निम्ता पठाउने निर्णयको पनि उनले बचाउ गरे । इजरायल–हमासको लडाइँमा रुसको प्रवेश पहिल्यै भइसकेको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले प्यालेस्टाइनीको समर्थन गर्दै भनेका थिए, ‘स्वतन्त्र सम्प्रभु’ प्यालेस्टाइन राज्यको निर्माण एउटा आवश्यकता हो ।’
इरानी विदेशमन्त्रीले रुसमा भएको बैठकपछि युद्धका क्रममा बन्धक बनाइएका मानिसलाई रिहा गर्न र उनीहरूलाई इरानको जिम्मा लगाउन हमास तयार रहेको बताएका थिए । उता, हमासका प्रतिनिधिमण्डलले रुसी राष्ट्रपति पुटिनको भनाइको सराहना गर्दै रुसी कूटनीतिको सक्रिय भूमिकालाई स्वीकार गरेका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । इजरायलको विदेश मन्त्रालयले भने हमासका वरिष्ठ अधिकारीको हात १४ सयभन्दा बढी इजरायलीको रगतले रंगिएको बताएको छ । शिशु, बच्चा, महिला र ज्येष्ठ नागरिकसहित २ सय २० भन्दा बढी इजरायलीको अपहरण हमासले गरेको पनि इजरायलले बताएको छ । हमासका वरिष्ठ अधिकारीलाई मस्कोमा बोलाउने निर्णयलाई इजरायलले अनुचित र आपत्तिजनक मानेको छ ।



