काठमाडौँ, असार १९ । नेपाल बार एसोसिएसनले अदालतभित्रै कर्मचारी कुटिएको घटनामा कानुन व्यवसायीलाई पक्राउ गरिएपछि भएको विरोधमा आज अदालतको कामलाई असर नपर्ने गरी विरोध गर्ने जनाएको छ ।
बारको आन्दोलन चलिरहे पनि आज सर्वोच्च अदालतदेखि देशभरका अदालतमा कामकारबाही रोकिएको छैन । बारले सोमबारभने बन्दीप्रत्यक्षीकरण बाहेकका मुद्दामा बहस पैरवी गरेको थिएन ।
बारका महासचिव अञ्जिता खनालका अनुसार उक्त विवादमा आन्दोलन जारी रहको भए पनि अदालतको कामलाई असर नपर्ने गरी आफ्ना मागहरू यथावत् रहेको र सेवाग्राहीलाई असर नपर्ने गरी खाजा समयमा मात्र विरोध कार्यक्रम गरेको हो । जिल्ला अदालत ललितपुरकी कर्मचारी प्रेमिका तामाङलाई हातपात गरेको आरोपमा कानुन व्यवसायी अमिर लामिछानेलाई प्रहरीले पक्राउ गरेको छ । सोही विषयमा बारले विरोध गर्दै आएको हो ।
बारले थुनामा रहेका अधिवक्ता लामिछानेलाई २४ घण्टाभित्र रिहा गर्नुपर्ने, सिसी टिभी फुटेज सार्वजनिक गर्नुपर्ने र लामिछानेले दिएको जाहेरी दर्ता गर्नुपर्ने माग गरेको छ ।




