काठमाडौँ, बैशाख २६ । एशिया कप क्रिकेट प्रतियोगिताको आयोजना श्रीलंकाले गर्ने सम्भावना बढेर गएको छ ।
भारतीय मिडिया इण्डियन एक्स्प्रेसले एशियन क्रिकेट काउन्सिलले पाकिस्तानमा आयोजना हुने भनिएको एशिया कप श्रीलंकामा आयोजना गर्ने तयारी गरेको उल्लेख गरेको छ ।
आगामी सेप्टेम्बरमा हुने एशिया कप खेल्न भारतले पाकिस्तान नजाने अडान लिएपछि एशिया कपको आयोजना बारे अन्योलता बढेको छ ।
अब एशियन क्रिकेट काउन्सिलले यस प्रतियोगितालाई पाकिस्तानबाट श्रीलंका सार्ने तयारी गरेको मिडिया रिपोर्टमा उल्लेख छ ।
अहिलेसम्म पाकिस्तान एशिया कपको आयोजना आफ्नो देशबाट सार्न तयार नभएपनि श्रीलंका, बंगलादेश र अफगानिस्तानले एसीसीको प्रतियोगिता श्रीलंका सार्ने सम्भावित निर्णयलाई समर्थन गरेको बताइएको छ ।
यस विषयमा एसीसीले यसै महिनाको अन्त्यसम्म निर्णय लिने मिडिया रिपोर्टमा उल्लेख छ ।
यसअघि भारतका खेलहरु पाकिस्तान बाहिर गरेर अन्य खेल पाकिस्तानमै गर्ने गरि पाकिस्तानले राखेको प्रस्तावलाई भारतीय पक्षले अस्वीकार गरेपछि अब एसीसीले प्रतियोगिता नै सार्ने तयारी गरेको हो ।
अहिले एशिया कप आयोजनाको लागि युएई र ओमानले समेत चासो देखाएकोमा गर्मि मौसमलाई ध्यानमा राखेर श्रीलंका नै सहि हुने निष्कर्षमा एसीसी पुगेको मिडिया रिपोर्टमा उल्लेख छ ।
विभिन्न मिडिया रिपोर्ट अनुसार एशिया कप पाकिस्तानबाट बाहिर आयोजना गरिएमा पाकिस्तानले प्रतियोगिता नखेल्ने समेत बताइएको छ । यस अवस्थामा एसीसीले पाकिस्तानको ठाउमा एसीसी प्रिमियर कपको फाइनलमा नेपालसँग पराजित भएको युएइलाई मौका दिनसक्ने समेत बताइएको छ ।
पाकिस्तानले एशिया कपको आयोजना आफ्नो देशबाट सारिएमा भारतमा अक्टोबर नोभेम्बरमा हुने विश्वकपमा समेत भाग नलिने चेतावनी दिदै दबाब बढाएको छ ।
एशिया कपमा भारत, पाकिस्तान र नेपाल समुह ए मा रहेका छन् भने समुह बि मा बंगलादेश, श्रीलंका र अफगानिस्तान रहेका छन् । एशिया कपको आयोजना सेप्टेम्बर २ देखि १७ सम्म हुने तालिका यस अघि सार्बजनिक गरिएको छ ।




