साउदीमा क्रिस्टियानो रोनाल्डोलाई भब्य स्वागत – यहाँ आउनु मेरो खेल जीवनको अन्त्य होइन

`

     २०७९ पौष २० गते ८:३३

काठमाडौं, पुस २०, बुधबार । साउदी क्लब अल नासरमा आवद्ध भएका पोर्चुगिज सुपरस्टार क्रिस्टियानो रोनाल्डोलाई साउदीमा भब्य स्वागत गरिएको छ। क्लबले कीर्तिमानी रकममा मंगलबार राति रोनाल्डोको स्वागतमा भब्य स्वागत समारोह आयोजना गर्‍यो। मार्सूल पार्कमा दुई घण्टासम्म चलेको स्वागत समारोहमा आतिसबाजीसहित उनलाई क्लबमा स्वागत गरियो। अल नासरको पहेँलो र नीलो जर्सी लगाएका रोनाल्डो रंगशालामा प्रवेश गर्दा आतिसवाजी र झकिझकाउ लाइटहरूले स्वागत गरिएको थियो। २५ हजार दर्शक क्षमताको खचाखच भरिएको रंगशालामा उनले दर्शकहरूलाई अभिवादन गर्दै मैदान प्रवेश गरेका बेला दर्शकहरूले हुटिङ गरेका थिए। साथमा उनकी प्रेमिका जर्जिना रोड्रिग्वेजले साउदी महिलाहरूले लगाउने परम्परागत कालो अबाया लुगा लगाएर बच्चाहरूसँगै पछि पछि मैदान छिरेकी थिइन्।

क्रिस्टियानो रोनाल्डोले त्यसअघि आयोजित एक कार्यक्रममा सम्झौता पत्रमा हस्ताक्षरसमेत गरेका छन्। यस्तै उनले प्रशंसकलाई सम्बोधनसमेत गरेका छन्। आफूलाई युरोप, अमेरिका, अष्ट्रेलिया र पोर्चुगलका धेरै क्लबले बोलाए पनि साउदी क्लबलाई आफूले बचन दिएकाले रियाद आएको बताए। ‘युरोप, ब्राजिल, अष्ट्रेलिया, अमेरिका र पोर्चुगलका धेरै क्लबहरूले मलाई अनुबन्धको प्रयास गरेका थिए। तर मैले यो क्लबलाई मेरो वचन दिएको भएर यता आएँ,’ रोनाल्डोले भने। उनले साउदी आउनु आफ्नो अन्त्य नभएको जिकिरसमेत गरेका छन्। ‘यो मेरो लागि अन्त्य होइन। साउदी अरेबियाली लिग धेरै प्रतिस्पर्धी छ। मलाई थाहा छ तर मानिसहरूलाई यसबारे खासै थाहा छैन,’ उनले भने,‘यहाँ आउनु मेरो खेल जीवनको अन्त्य होइन।’

३७ वर्षीया रोनाल्डोले युरोपका सबै कीर्तिमान तोडिसकेपछि साउदी अरेबियामा पनि केही तोड्न चाहेको बताए। ‘यो सम्झौता अद्वितीय छ किनभने म पनि एक अद्वितीय खेलाडी हुँ,’ उनले भने, ‘मैले युरोपेली फुटबलका सबै कीर्तिमान तोडिसकेको छु र अहिले एसियामा केही गर्न चाहन्छु, मेरो अनुभव बाँड्ने यो सही समय हो भन्ने महसुस गरिरहेको छु।’ उनले आफू साउदी खेलप्रेमीको हिस्सा बन्न आएकोसमेत बताए। ‘म यहाँ जित्न, खेल्न, रमाइलो गर्न, देश र देशको संस्कृतिको सफलताको हिस्सा बन्न आएको हुँ,’ उनले भने। अल नासरका प्रशिक्षक रूडी गार्सियाले रोनाल्डोलाई अनुबन्ध गर्नु साउदी अरेबियाको लिगका लागि ठूलो कदम भएको प्रतिक्रिया दिए। ‘मेरो जीवनमा, मैले देखेको छु कि क्रिस्टियानो जस्ता महान खेलाडीहरू व्यवस्थापन गर्न सजिलो छ, किनभने मैले उनलाई सिकाउन सक्ने केही छैन,’ गार्सियाले पत्रकारहरूसँग भने, ‘म चाहान्छु कि उनले अल नासरसँग खेल्न र अल नासरसँग जितेको मजा लिनुहोस्।’ नौ पटकको साउदी प्रो लिग च्याम्पियन अल नासरले रोनाल्डोलाई क्लबमा भित्र्याउनु नै इतिहास निर्माण गरेको बताएको छ। उनले रोनाल्डोसँगको सम्झौतालाई ऐतिहासिक अध्याय भन्दै विश्वका सबै युवा खेलाडीका लागि उच्च उदाहरण भएको प्रतिक्रिया दिए।

उनले भने ‘यसले हाम्रो लिग, राष्ट्र र भावी पुस्तालाई उत्कृष्ट संस्करण हुन प्रेरित गर्नेछ’, क्लबका अध्यक्ष मुसल्ली अल-मुअम्मरले भने, ‘यो सम्झौताले नयाँ ऐतिहासिक अध्याय लेख्नु मात्र होइन। विश्वका सबै खेलाडी र युवाहरूको लागि उच्च उदाहरण र प्रेरणा हो। क्लब, साउदी खेलकुद र भावी पुस्ताका लागि थप सफलता हासिल गर्ने माध्यम हो।’ सन् २०२५ सम्मका लागि साउदी अरेबियाको अल नासरसँग अनुबन्ध भएका रोनाल्डो सोमबार साँझ रियाद पुगेका हुन्। रोनाल्डोले वार्षिक १७७ मिलियन पाउण्डमा ३ वर्षका लागि क्लबमा आवद्ध भएका हुन्। उनले सन् २०२५ सम्म साउदी अरेबियाको टोली अल नासरबाट फुटबल खेल्नेछन्। यो विश्व फुटबल इतिहासमै हालसम्मको सबैभन्दा बढी पारिश्रमिक हो। रोनाल्डोले सन् २००२ सेप्टेम्बर २९ मा स्पोर्टिङ लिस्बनका लागि ब्रागाविरुद्ध खेल्दै क्लब फुटबलमा डेब्यु गरेका थिए। रोनाल्डोले लिस्बनका लागि ३१ खेलमा ५ गोल गरेका थिए। त्यसपछि म्यानचेस्टर युनाइटेडका लागि उनले सन् २००३ देखि २००९ सम्म २ सय ९२ खेलमा १ सय १८ गोल गरे।

क्रिस्टियानो रोनाल्डोको लागि रियल म्याड्रिड करिअरको सर्वाधिक सफल क्लबको रुपमा रह्यो। उनले सन् २००९ देखि २०१८ सम्म ४ सय ३८ खेल खेल्दै ४ सय ५० गोल गरे। युभेन्टसमा ३ सिजन बिताएका उनले १ सय ३४ खेलमा १ सय १ गोल गरे । म्यानचेस्टर युनाइटेडका लागि गत सिजन ३८ खेलमा २४ गोल गरे। युनाइटेडसँगको समय बाँकी रहँदै उनले आपसी सहमतिमा सम्झौता तोडेका थिए। रोनाल्डो भर्खरै कतारमा भएको विश्वकपमा पोर्चुगललाई क्वार्टरफाइनलसम्म पुर्‍याएर फर्केका हुन्। जहाँ उनले घाना विरुद्ध आफ्नो पक्षको सुरुवाती जितमा आफ्नो स्ट्राइकको साथ पाँच फरक फिफा विश्वकपमा गोल गर्ने पहिलो व्यक्ति बनेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?