काठमाडौं, मंसिर ८ । मङ्सिर ४ मा सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको प्रारम्भिक नतिजा ठुला दल र तिनका नेताहरूले गरेको आङ्कलनविपरीत आइरहेको छ । प्रतिनिधि सभा निर्वाचनको मत परिणाम आउने क्रम जारी छ । खासगरी नेपालका प्रमुख सहरमा उदाएको रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी, मधेस प्रदेशमा सिके राउत नेतृत्वको जनमत पार्टी र लुम्बिनी र सुदूरपश्चिमका केही निर्वाचन क्षेत्रमा रेशम चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टीका कारण प्रमुख र ठुला भनिएका राजनीतिक दलहरूलाई धक्का लागेको छ । यो धक्कासँगै अव बन्ने संसद् र सरकार समेत कस्तो हुन्छ भन्ने चासो बढ्न थालेको छ । यी नयाँ तीन पार्टीको अलावा बिदाइ भैसकेको राजसंस्था र हिन्दु राष्ट्र स्थापनाको माग गर्दै संघीयताको विरोधमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीको बौराइले पनि धेरैले गरेको राजनीतिक भविष्यवाणीको पुर्वानुमानविपरीत अबको संसद् गठन हुने भएको छ ।
एमालेका वरिष्ठ नेता समेत रहेका ईश्वर पोखरेल, नेकपा एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्री, माओवादी केन्द्रका पम्फा भुसाल र ओनसरी घर्तीहरू लगायत पराजित भइसकेको अवस्था छ । देशभरका केही क्षेत्रका मत परिणाम घोषणा भइसकेका छन् भने धेरै स्थानमा मत गणना जारी छ । घोषणा भइसकेका र गणना भइरहेका मत परिणामहरूलाई नियाल्दा ठुला दलका स्थापित केही नेताहरू पराजित भइरहेका छन् । यी बाहेक पूर्व प्रधानमन्त्री समेत रहेका झलनाथ खनाल, कांग्रेस नेता कृष्ण सिटौलादेखि विजयकुमार गच्छदार हुँदै पुष्पा भुसाल, ज्ञानेन्द्र कार्की, उमाकान्त चौधरीदेखि अशोक राईको अवस्था धरमर छ । नयाँ दलका नयाँ उम्मेदवार तथा पुरानै दलमा पनि नयाँ उम्मेदवारहरूलाई मतदाताले रुचाएको देखिन्छ । यही अवस्था रहिरहे ठुला तथा पुराना दलका नेताहरूलाई पाखा लगाउँदै संसद्मा नयाँ पार्टी र नयाँ अनुहारसहितका युवाहरूको सङ्ख्या बढ्न पुग्ने निश्चित छ । संसद्मा नयाँ अनुहार र युवापुस्ता आउनु सकारात्मक भए पनि यसले मुलुकको राजनीतिक स्थायित्वमाथि कस्तो प्रभाव पार्ला वा नपार्ला अहिलेको मुख्य प्रश्न यही हो । नागरिक समाजका अगुवा श्याम श्रेष्ठको बुझाइमा अहिले उदाएका नयाँ दल र नयाँ अनुहारबाट मतदाता पुराना दल र नेताहरूलाई सच्चिन दिएको चेतावनी ठान्छन् । उही मान्छे उही अनुहार भएपछि मतादाताले रियाक्टस्वरुप नयाँलाई अवसर दिएको श्रेष्ठको भनाइ छ ।
श्याम श्रेष्ठले अब बन्ने संसद् त्रिशङ्कु हुने भन्दै नतिजाले राजनीतिक अस्थिरता हुन्छ भन्ने तर्कमा सहमत हुन नसकिने बताए । ‘राष्ट्रिय स्वतन्त्र पार्टी खुलेको चार महिना पनि नहुँदै ठुला दल छोडेर उसका उम्मेदवार छान्नु, सहरहरूमा स्वतन्त्रका उम्मेदवारहरूले स्थानीय तहमा जित्नु यो एउटै क्रम हो’, उनले भने, ‘जनता परिवर्तन खोजिरहेको छ, त्यो आकाङ्क्षालाई पार्टीहरूले त्यो पूर्ति गर्न सकिरहेका छैनन् ।’ उनले ठुला दल र नेताप्रतिको आक्रोशको भोट स्वतन्त्र र साना दलमा खन्याएको बताए । ‘यो रियाक्सनको भोट हो’, श्रेष्ठको विश्लेषण छ । ‘एउटा दलको बहुमत आएपछि स्थिरता हुन्छ भन्ने सोच नेपालमा छ । तर यो कुरा सही होइन । किनभने दुई तिहाइ नै आउँदा पनि अस्थिरता हामी आफैले भोगेका हौ’, श्रेष्ठको भनाइ छ । उनले स्वीजरल्याण्ड वा भारतमा पनि हंग पार्लियामेन्टबाट पनि स्थिरता कायम भएको उदाहरण दिँदै अव बन्ने संसद्को अङ्कगणितबाट पनि स्थिरता दिन सकिने बताए । तर उनले त्यसका लागि दल र दलका नेताहरू मिलेर र राष्ट्रियतालाई केन्द्रमा राख्न सक्नुपर्ने बताए । ‘दलहरू मिलेर देशलाई केन्द्रविन्दुमा राखेर अघि बढ्दा हंग पार्लियामेन्टले पनि काम गर्न सक्छ’, श्रेष्ठको भनाइ छ ।
नागरिक समाजका अगुवा श्रेष्ठको भन्दा अलि फरक विश्लेषण छ वरिष्ठ पत्रकार तथा प्रा। पुरुषोत्तम दाहालको । उनले प्रारम्भिक नतिजाबारे विश्लेषण गर्दै संसद्मा १० भन्दा बढी राजनीतिक दलहरूको प्रतिनिधित्व हुनसक्ने बताए । संसद्मा धेरै राजनीतिक दलहरूको प्रतिनिधित्व हुनु र कसैको बहुमत नहुनुले संसद् अस्थिर हुनसक्ने दाहालको ठहर छ । ‘प्रारम्भिक नतिजाले पहिलो पार्टी काँग्रेस नै हुन्छ भन्ने देखाउँछ । तर समानुपातिकले काँग्रेसलाई यो पटक भयानक पछाडि पा¥यो । कांग्रेसको भोट राष्ट्रिय स्वतन्त्र पार्टीमा धेरै गयो’, प्राध्यापक दाहालको भनाइ छ । काँग्रेसलाई तह लगाउन पनि समानुपातिकमा घण्टीमा भोट गएको उनको तर्क छ ।
‘घण्टी समानुपातिकमा निकै माथि आउँछ । संसद्मा दश वटा पार्टी त निश्चित आउने भए । बहुमत कसैको हुँदैन । खेल फेरि ५१ साल पछिको निर्वाचन पछिको जुन खालको नेपालमा भद्दा खेल भयो राजनीतिक संस्कारको त्यही खेल फेरि दोहोरिने खतरा बढेको छ । यो सत्य हो’, संसद्मा २०५१ साल पछिको भद्दा राजनीतिक खेल हुनसक्ने दाहालको टिप्पणी छ । प्रारम्भिक नतिजा हेर्दा काँग्रेस पहिलो, एमाले दोस्रो र राष्ट्रिय स्वतन्त्र पार्टी तेस्रो हुनसक्ने दाहालको आङ्कलन छ । सत्तारुढ गठबन्धनले अझै पनि बहुमत ल्याउन सक्ने सम्भावना नटरेको दाहालको भनाइ छ । गठबन्धनले बहुमत ल्याउने भएकाले अब बन्ने सरकारको नेतृत्व पनि काँग्रेस सभापति शेरबहादुर देउवाले नै गर्न सक्ने दाहालको भनाइ छ । यद्यपि यो निर्वाचनमा नेपाली कांग्रेसका मतदाताले माओवादी केन्द्रलाई मत नदिएको गुनासो समेत बढेकाले वर्तमान सत्ता गठबन्धन टुट्न सक्ने पनि सम्भावना पनि रहेको दाहालको विश्लेषण छ ।
गठबन्धन टुटेको अवस्थामा नेपाली काँग्रेस र नेकपा (एमाले)को सरकार बन्न सक्ने विकल्प समेत खुल्न सक्ने तथा काँग्रेस बाहेकका शक्तिको सरकार पनि बन्न सक्ने सम्भावनालाई नकार्न नसकिने दाहालको भनाइ छ । यो अवस्थामा संविधानतः सरकार बनेको दुई वर्षसम्म सरकारविरुद्ध अविश्वास प्रस्ताव ल्याउन नपाइने भएकाले दुई वर्ष सरकार चले पनि त्यसपछि भने अस्थिरताको समस्या बल्झिने खतरा रहन्छ । नयाँ राजनीतिक दलहरूले पुरानो शैली पछ्याउनुको साटो वैचारिक रूपमा पनि नयाँ हुनुका साथै कर्म, व्यवहार र आचरणमा पनि नयाँपन दिन सक्नुपर्नेमा दाहालको जोड छ । नयाँ उम्मेदवार तथा राजनीतिक दलहरूलाई निर्वाचनका क्रममा गरेका खर्चलाई पारदर्शी बनाउन र सार्वजनिक गर्नुपर्ने दाहालको आग्रह छ । ‘वैचारिक रूपमा सशक्त हो कि, वैचारिक रूपमा नयाँ हो कि, कर्मले, व्यवहारले नयाँ हो वा आचरणले नयाँ ?अर्थात योग्यता र सामर्थ्यले नयाँ ? पुरानै शैलीका जम्मै कुरा दाहोर्याउने अनि भन्ने नयाँ पुस्ता ?यसबाट काम लाग्दैन । नयाँ व्यक्ति र पार्टीहरूलाई मेरो आग्रह, उहाँहरूलाई प्रश्न गर्नुपर्छ, यो निर्वाचनका क्रममा उहाँहरूले गर्नुभएको खर्च र आम्दानी सार्वजनिक रूपमा घोषणा गर्नुपर्छ । श्रोत खोल्नुपर्छ । उहाँहरूले नढाँटीकन भन्नुपर्यो आम नागरिकलाई, उहाँहरूले नयाँ कामको थालनी गर्नु हुनेछ । पारदर्शी हुनुपर्छ’ आम्दानी र खर्च पारदर्शी भएमा नयाँ कामको थालनी हुने दाहालको भनाइ छ । नेपाली राजनीतिका गलत प्रवृत्तिको अन्त्य हुनुपर्ने र मुलुकका लागि आवश्यक प्रवृत्तिहरूको विकास गर्नुपर्नेमा दाहालको जोड छ ।




