काठमाडौं,२८ कार्तिक,सोमबार । तिहारयता खानेतेलको मूल्य प्रतिलिटर ५० रुपैयाँसम्मले बढिसकेको छ । रुस–युक्रेन तनावका कारण लगातार बढिरहेको खानेतेलको मूल्य दशैंतिहार शुरू भएसँगै केही घटे पनि अहिले आएर बढ्न थालेको हो ।
खुद्रा व्यापार संघका अनुसार हरेक ब्रान्डको खानेतेलको खुद्रा मूल्य तिहारयता लिटरमा २० देखि ५० रुपैयाँसम्म बढेको छ । दशैंको बेला प्रतिलिटर २ सय ४० रुपैयाँमा पाइने सोयाबिन तेललाई अहिले २ सय ८० रुपैयाँसम्म पर्न थालेको छ । ३ सय २० रुपैयाँ लिटरको तोरीको तेल अहिले ३ सय ४० रुपैयाँसम्म पुगेको छ । त्यसैगरी २ सय ५० रुपैयाँ लिटर पर्ने सनफ्लावर तेलको मूल्य हाल ३ सय रुपैयाँसम्म पुगेको छ । केही समय तेलको मूल्य अझै बढ्न सक्ने उद्योगी बताउँछन् ।




