काठमाडौँ, कार्तिक २३ । अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) का पूर्व अध्यक्ष सेप ब्लाटरले आसन्न विश्वकप २०२२ को आयोजना अधिकार कतारलाई दिनु भुल भएको मंगलबार बताएका छन् ।
सन् २०१० मा कतारलाई विश्वकप आयोजनाको अधिकार दिँदा ब्लाटर फिफाका अध्यक्ष थिए । समलिंगी सम्बन्ध, मानव अधिकार र आप्रवासी कामदारप्रतिको दृष्टिकोणलाई लिएर खाडी देश कतारको चर्को आलोचना हुँदै आएको छ ।
अहिले ८६ वर्षका ब्लाटरले स्विस पत्रिका टागेस एनजेगरलाई दिएको अन्तर्वार्तामा भनेका छन्, ‘कतार निकै सानो देश हो, फुटबल र विश्वकप योभन्दा निकै ठूलो छ ।’ विश्वकपको ९२ वर्ष लामो इतिहासमा यो प्रतियोगिताको आयोजना गर्ने कतार पहिलो मध्यपूर्वको देश हो । यस्तै विश्वकप पहिलोपल्ट नोभेम्बर–डिसेम्बर महिनामा हुँदै छ ।
फिफाको कार्यकारी कमिटीमा भएको मतदान कतारको पक्षमा १४–८ रहेको थियो । कतारले १२ वर्षअगाडिको त्यस मतदानमा अमेरिकालाई पछाडि पारेको थियो ।
ब्लाटरले भनेका छन्, ‘यो निकै खराब निर्णय थियो र तत्कालीन अध्यक्षको आधारमा म यसको जिम्मेवारी भने लिन्छु । अमेरिकाको स्थानमा कतारमा विश्वकप आयोजनाको अधिकार जानु पछाडि प्लाटिनी र उनको टिमको भूमिका थियो । यो सत्य हो ।’




