अब ट्‍वीटर प्रयोगकर्ताले म्यासेज पठाउने,किनमेल गर्ने,भुक्तानी गर्ने लगायतको सुबिधा प्राप्त गर्न सक्ने

`

     २०७९ कार्तिक १२ गते ९:४४

काठमाडौँ,कार्तिक १२,शनिबार । इलन मस्कले ५४.२० डलर प्रतिसेयर मूल्यमा कुल ४४ अर्ब अमेरिकी डलर(हालको विनिमय दरअनुसार ५३ खर्ब ६८ अर्ब रुपैयाँ) तिरेर ट्वीटर किनेका हुन् । लगानीकर्ताहरूले २५ अर्ब डलर मोल लगाएको ट्वीटरलाई झन्डै दोब्बर रकममा खरिद गरेपछि मस्कले ट्वीटरमा लेखेका छन्– ‘पक्षी मुक्त भयो ।’ लगत्तै उनले पराग अग्रवाललगायत कम्पनीका उच्च पदाधिकारीहरूलाई बर्खास्त गरिदिएको समाचार आइरहेका छन् । कम्पनीबाट निकालिएबापत परागले अन्दाजी ४ करोड २० लाख अमेरिकी डलर (हालको विनिमय दरअनुसार करिब ५ अर्ब रुपैयाँ) पाउने अनुमान गरिएको छ । शुक्रबारसम्ममा कम्पनी नकिनेको भए मस्क अदालती प्रक्रियामा जानुपथ्र्यो । गत अप्रिलमा उनले अकस्मात् ट्वीटर किन्ने प्रस्ताव पेस गरेका थिए । त्यसको १० दिनपछि ट्वीटरले मस्कको प्रस्ताव स्वीकार गर्‍यो । खरिद सम्झौता भयो । त्यसको केही समयपछि मस्कले उक्त सम्झौतालाई ‘तत्कालका लागि यथास्थितिमा राखिएको’ बताए । ट्वीटरमा बट र स्पाम एकाउन्टको यकिन तथ्यांक जान्न चाहेकाले सम्झौतालाई ‘होल्ड’ मा राखिएको उनको भनाइ थियो । ट्वीटर किनेपछि बट समस्या समाधान गर्ने इलनले बताउने गरेका थिए । जम्मा ५ प्रतिशत मात्रै बट एकाउन्ट रहेको ट्वीटरको दाबी भए पनि मस्कले ट्वीटरमा २० प्रतिशतभन्दा बट एकाउन्ट रहेको दाबी गरेका थिए ।

इलन मस्कलाई ट्‍वीटरका उपद्रयाहाहरूको सूचीमा अमेरिकी संस्थाहरूले सधैं शीर्ष स्थानमा राख्ने गरेका थिए । बीचको केही समय उनलाई डोनाल्ड ट्रम्पले उछिनेका भए पनि ट्रम्प प्रतिबन्धमा परेपछि ट्वीटरमा एकछत्र पाराले मस्कले होहल्ला मच्चाए । ट्वीटरमा रहेर ट्वीटर र यसका प्रमुखहरूकै मजाक उडाउने मस्क अब स्वयं उक्त माइक्रो ब्लगिङ साइटको एक्ला मालिक बनेका छन् । शुक्रबार कम्पनीको स्वामित्व लिएसँगै अब मस्क–ट्वीटर गाथा सकियो भन्ने लाग्ला । तर, त्यो गलत हुनेछ । वास्तविक नाटक अब बल्ल सुरु हुने जानकारहरू बताइरहेका छन् । विश्वकै धनी व्यक्तिको हातमा विश्वकै एक सशक्त सामाजिक सञ्जालको स्वामित्व आइपुगेको छ । यसलाई उनले कसरी ‘ह्यान्डल’ गर्छन् भन्नेमा सबैको ध्यान छ ।

इलन मस्कलाई यसअघि विद्युतीय कार, अन्तरिक्ष यान, भूमिगत सुरुङलगायत विषयमा चासो दिए पुग्थ्यो । अब उनले ४० करोड प्रयोगकर्ता रहेको सामाजिक सञ्जाल प्लाटफर्मलाई कसरी सशक्त शैलीमा सञ्चालन गर्ने भन्नेबारे पनि सोच्नुपर्ने भएको छ । गुगल, फेसबुक, रेडिटजस्ता प्लाटफर्मसँग प्रयोगकर्ता, आम्दानीलगायतमा प्रतिस्पर्धा गर्न कस्तो रणनीति अपनाउने भन्नेबारे पनि मस्कले दिमाग खियाउनुपर्नेछ । ट्वीटरले सम्झौताका प्रावधानअनुरूप आफूहरूले यकिन तथ्यांक उपलब्ध गराएको बतायो । तर, मस्कले पत्याएनन् । ट्वीटरमा अधिक बट एकाउन्ट रहेको भन्दै अड्डी कसे । ट्वीटर किन्न आवश्यकताभन्दा बढी मूल्य तिर्न लागेकोबारे पनि उनलाई प्रशस्त प्रश्न गरियो । अन्तत-जुलाईमा मस्कले ट्वीटर किन्ने सम्झौता रद्द गर्न खोजे । ट्वीटरले मस्कविरुद्ध डेलावयरको चान्सरी अदालतमा मुद्दा हाल्यो । उक्त अदालतकी न्यायाधीश क्याथलिन म्याककर्मिकले दुवै पक्षलाई आपसी सम्झौतामा काम गर्न अक्टोबर २८ साँझ ५ बजेसम्मको समायसीमा दिएकी थिइन् । मस्कले अन्तिम समयमा ट्वीटर खरिद गरेर अदालती उल्झन टुंग्याए । ट्वीटर किन किन्न लागेको भन्नेबारे हालै क्यानडामा आयोजित टेड सम्मेलनमा इलनले भनेका थिए, ‘ट्वीटर अधिकतम भरपर्दो र व्यापक समावेशी प्लाटफर्म भएकाले किन्न खोजेको हुँ ।’ उनका अनुसार भविष्यको सभ्यताका लागि ट्वीटर महत्त्वपूर्ण छ । अभिव्यक्ति स्वतन्त्रताको प्लाटफर्म भए पनि अहिलेको स्वरूपमा ट्वीटरले आफ्नो ‘सामाजिक दायित्व’ पूरा गर्न नसक्ने भएकाले यसलाई निजी कम्पनीमा रूपान्तरण गर्न आवश्यक रहेको मस्क बताउँछन् ।

अब ट्वीटरलाई कसरी अगाडि बढाउने भन्नेबारे मस्कले अनेक बृहत् योजनाहरू सुनाइरहेका छन् । हाल आफूले आफैंलाई ‘चिफ ट्वीट’ (ट्वीटर प्रमुख)घोषित गरेका उनी यो सामाजिक सञ्जालको द्रुत सुधार र आम्दानीका नयाँ स्रोत पहिल्याउन खोज्दै छन् । सबैभन्दा पहिला उनले घर सफा गर्ने नीति लिएको देखिन्छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृतसँगै उनले सयौं कर्मचारी बर्खास्त गर्न लागेका छन् । हाल ट्वीटरमा ७ हजार ५ सय कर्मचारी आबद्ध छन् । मस्कले ७५ प्रतिशत कर्मचारी कटौती गर्ने वासिङ्टन पोस्टले जनाएको छ । ट्वीटरको सामर्थ्य उजागर हुनै बाँकी रहेको बताउने मस्क अब यसलाई ‘सुपर एप’ बनाउन चाहन्छन् । यसबारे उनले ट्वीट गरेका छन्– ‘ट्वीटर किन्नु भनेको सबै कुराको एप (सुपर एप)बनाउन हो ।’ सुपर एपमा प्रयोगकर्ताले म्यासेज पठाउने, किनमेल गर्ने, भुक्तानी गर्ने, खाना र ट्याक्सी अर्डर गर्नेलगायत विभिन्न सेवा प्राप्त गर्न सक्छन् । चीनको वीच्याट, भारतको पेटीएपजस्ता सुपर एपमा एकै एपबाट अनेक एपको सेवा लिन मिल्छ । इलनले ट्वीटरलाई सामाजिक सञ्जाल एप मात्रै नभएर ‘एक्स’ नामक सुपर एप बनाउने संकेत दिएका छन् ।

मस्कको अर्को प्रमुख उद्देश्य आगामी दिनमा विज्ञापनप्रतिको निर्भरता कम गर्ने रहेको छ । विज्ञापन ट्वीटरको प्रमुख आयस्रोत हो । सन् २०२१ मा ९० प्रतिशत आम्दानी विज्ञापनबाट भएको थियो । मस्कले सन् २०२८ सम्ममा विज्ञापनप्रतिको निर्भरता ४५ प्रतिशतमा झार्ने लक्ष्य लिएका छन् । यद्यपि, बिहीबार उनले ट्वीटमा लेखेका थिए, ‘सम्भव भएसम्म ट्वीटर प्रयोगकर्ताहरूलाई उनीहरूको आवश्यकताअनुसार सान्दर्भिक विज्ञापनहरू देखाउनुपर्छ ।’फाइनान्सियल टाइम्सको ‘ह्वाट वील इलन मस्क डु विद ट्वीटर रु’ समाचारका अनुसार सन् २०२८ सम्ममा ट्वीटरको आम्दानी पाँच गुणाले बढाएर २६ अर्ब ४० करोड अमेरिकी डलर पुर्‍याउने मस्कले आफ्ना लगानीकर्तालाई बताएका छन् । नयाँ भुक्तानी प्रणाली, ग्राहक सदस्यता र डेटा लाइसेन्सिङबाट आम्दानी बढाउने उनको योजना रहेको सो समाचारमा भनिएको छ । मस्कको नयाँ भुक्तानी योजनामा क्रिप्टोकरेन्सी र ब्लकचेन प्रविधि पनि समावेश हुन सक्ने अनुमान गरिएको छ ।

धेरैथोक चाहिँ मस्कको अभिव्यक्ति स्वतन्त्रताप्रतिको मान्यताले निर्भर गर्ने विज्ञहरूले औंल्याएका छन् । उनले ट्वीटरलाई बिनाकुनै हस्तक्षेप स्वतन्त्ररूपमा विचारहरू अभिव्यक्त गर्न पाइने डिजिटल डबली बनाउन चाहेको बताइरहेका छन् । यसमा उनी कानुनसम्मत रहुन्जेल जो कसैलाई जेसुकै कुरा भन्न दिने पक्षमा छन् । जातीय उपेक्षा, हिंसात्मक सामग्रीको ग्राफिक प्रस्तुतिजस्ता कानुनी रूपमा सिधै आपराधिक नहुने तर खराब सामग्री सामाजिक सञ्जालमा राखिए, त्यसको के गर्ने भन्नेबारे मस्कलाई प्रश्न गर्ने गरिएको छ । अभिव्यक्ति स्वतन्त्रताकै लागि पार्लर, ट्रुथ सोसलजस्ता सामाजिक सञ्जालहरू खोलिएका थिए । जसलाई जे पनि बोल्न दिँदा तिनमा घृणा फैलिने र विषाक्त विचारहरू भरिपूर्ण भए । तसर्थ, तीजस्ता बेपरवाह प्लाटफर्मले समेत थोरबहुत कन्टेन्ट मोडरेसनको पोलिसी अपनाउनुपरेको छ । इलनको हातमा परेपछि ट्वीटर पनि विषाक्त र दुव्यर्वहारको मैदान बन्ला भनी कतिपय विज्ञापनदाताहरू चिन्तित छन् । यो कुरा बुझेका मस्कले अल्गोरिदम प्रयोग गरी सामाग्रीहरूको प्रवर्द्धन र अवमूल्यन गरिने बताएका छन् ।

इलन मस्क आफूले ‘पहुँचको स्वतन्त्रता’ नभई ‘अभिव्यक्तिको स्वतन्त्रता’ को वकालत गरेको उनको भनाइ छ । अभिव्यक्ति स्वतन्त्रतासम्बन्धी हरेक देशको कानुनको सम्मान गर्ने र ट्वीटर ‘जो कसैले मनलाग्दी गर्न पाउने अखडा’ नबन्ने मस्कको पछिल्लो भनाइ छ । यद्यपि, मस्कले ट्वीटरमा स्थायी प्रतिबन्धको नीति हटाउनेबारे बोल्दै आएका छन् । उनले डोनाल्ड ट्रम्पको ट्वीटर खाता फुकुवा गरिदिने संकेत दिइसकेका छन् । जनवरी २०२१ मा अमेरिकाको संसद् भवन(क्यापिटल हिल) मा भएको आक्रमण गर्न उक्साएको भन्दै ट्वीटरलगायत अन्य सामाजिक सञ्जालले ट्रम्पलाई आ–आफ्ना प्लाटफर्ममा बन्देज लगाएका छन् ।

दक्षिणपन्थीहरू माझ ट्वीटरमा खुला गरिने कुराले इलन मस्क प्रिय बनेका छन् । ट्वीटरलगायत सामाजिक सञ्जालमा आफूलाई सेन्सर गरिने दक्षिणपन्थीहरूको गुनासो छ । मस्कले ट्वीटरको मोडरेसन शैलीलाई लिएर यसअघि पटक–पटक ट्वीट गरेका थिए । यसमा धेरै सेन्सरसिप हुने र मोडरेटरहरूले अलि बढी हस्तक्षेप गर्ने उनको भनाइ हुने गरेको थियो । अबका दिनमा उनी र उनले नियुक्त गर्ने कार्यकारीले मोडरेसन नीतिमा परिवर्तन ल्याउने अनुमान गरिएको छ । मोडरेसन खुकुलो पारिए हाल नियन्त्रण गर्दै आएको घृणास्पद अभिव्यक्ति, मिथ्या सूचना र झूटा खबर ट्वीटरभरि छरपस्ट हुने सूचना प्रविधिकी जानकार जेनी कर्बीले आफ्नो लेख ‘इलन मस्क ट्वीटर टेक ओभर एन्ड ह्वाट इन मिन्स फर ब्रान्ड’ मा उल्लेख गरेकी छन् । ‘सामाजिक सञ्जालमा भद्रगोल निम्त्याउनेमध्ये इलन मस्क एक हुन्,’ जेनी थप लेख्छिन्, ‘अहिले सामाजिक सञ्जाल प्लाटफर्मका रूपमा ट्वीटरको शक्ति प्रस्फुटन भइरहेको छ । यो शक्ति भविष्यमा कसरी प्रयोग हुन्छ भन्ने मूल प्रश्न सिर्जना भएको छ, यसमा हामीले ध्यान दिन आवश्यक पनि छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?