देशमा आर्थिक समृद्धिको थालनी गोरखाबाट गरि नयाँ रेकर्ड बनाउनेछु – प्रचण्ड

`

     २०७९ आश्विन २९ गते ६:१७

असोज २९, गोरखा । गोरखा स्थित सत्ता गठबन्धनले आज आयोजना गरेको अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षणलाई सम्बोधन गर्दै नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड) ले संविधान नै खतरामा परेको बेला वर्तमान संविधानको रक्षाका लागि गठबन्धन बनेको बताए । उनले वर्तमान बाम लोकतान्त्रिक गठबन्धन निर्वाचनका लागि नभई संविधानको रक्षाका लागि बनेको बताए । ‘यो अहिलेको निर्वाचनका लागि गठबन्धन बनेको होइन’, अध्यक्ष दाहालले भने, ‘संविधान ध्वस्त पार्ने अवस्था आएपछि त्यसको रक्षाका लागि गठबन्धन निर्माण गरिएको हो ।’ उनले संविधान रक्षा गर्न गठित गठबन्धन निर्वाचनसम्म आइपुगेको बताए । ‘पटक–पटक संविधान च्यात्ने कोसिस भएपछि यही गठबन्धनले संविधानको रक्षा गरेको हो’, उनले भने, ‘अब यसलाई मङ्सिर ४ गतेको चुनावमा सदुपयोग गर्नुपर्छ ।’

माओवादी अध्यक्ष दाहालले आफू नयाँ रेकर्ड बनाउने उद्देश्यसहित गोरखामा निर्वाचन लड्न लागेको भन्दै यसको छुट्टै महत्व रहेको समेत बताए । ‘गोरखा जिल्ला आफ्नो लागि अपरिचित जिल्ला होइन’, उनले भने, ‘गोरखाको भूगोल, संस्कृति र जनतालाई मैले राम्रोसँग बुझेको छु ।’ उनले आफू गोरखा २ नम्बर क्षेत्रबाट निर्वाचन लड्न लागेको भए पनि समग्र गोरखा जिल्लालाई आधार बनाएर देशको आर्थिक समृद्धिको थालनी पनि गोरखाबाट नै गर्ने बताए । नेपालमा थुप्रै राजनीतिक परिवर्तन भए पनि आर्थिक समृद्धिसँग जोडेर अघि बढाउन नसक्दा दिगो हुन नसकेको उनको भनाइ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?