काठमाडौँ, भदौ ३ । क्रिस्टियानो रोनाल्डोले म्यानचेस्टर युनाइटेड छोड्ने अन्तिम प्रयासको रुपमा जर्मनी क्लब बोरुसिया डोर्टमण्ड जाने प्रयास गरिरहेको मिडिया रिपोर्ट सार्बजनिक भएको छ ।
यस सिजनको शुरुवात हुनुअघि देखि नै रोनाल्डोले युनाइटेड छोड्ने प्रयास गरेपनि च्याम्पियन्स लिग खेल्ने क्लबहरुले उनलाई खरिद गर्ने इच्छा नदेखाउदा उनको यो योजना सफल हुन सकिरहेको छैन । तर पछिल्लो मिडिया रिपोर्टका अनुसार रोनाल्डो डोर्टमण्ड जाने सम्भावनामा काम भइरहेको उल्लेख गरिएको छ । यस प्रयासलाई यस सिजनमा रोनाल्डोले युनाइटेड छोड्ने अन्तिम प्रयासको रुपमा हेरिएको छ ।
डोर्टमण्ड जान रोनाल्डो खुला रहेको र उनका एजेन्टले यस विषयमा पहल गरिरहेको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ । रोनाल्डो डोर्टमण्डमा जान दुई कुराले उत्साहित भएको बताइएको छ ।
यस विषयमा डोर्टमण्ड आन्तरिक छलफलमा रहेको मिडिया रिपोर्टमा दाबि गरिएको छ । लोन र पूर्ण स्वामित्व सहितको विकल्पमा अहिले छलफल भइरहेको बताइएको छ । डोर्टमण्डले एर्लिंग हालाण्डलाई बेचेपछि भित्र्याएका फरवार्ड सेबास्टेन हाल्लेरलाई ट्युमर भएपछि केहि महिना मैदान बाहिर हुने भएका छन् । यस अवस्थामा डोर्टमण्डले रोनाल्डोलाई लोनमा भएपनि भित्र्याउन सक्ने बताइएको छ ।
रोनाल्डोले आफ्नो पारिश्रमिकमा ३० प्रतिशतसम्म कटौती गरेर म्यानचेस्टर युनाइटेड छोड्न तयार भएका थिए । रोनाल्डो दोस्रो बर्ष अझ पारिश्रमिक कटौती गर्ने गरि एक बर्ष भन्दा बढीको सम्झौता गर्न पनि तयार भएको बताइएको छ ।
नयाँ प्रशिक्षक एरिक टेनह्यागले पनि प्रेरित गर्न नसकेपछि म्यानचेस्टर युनाइटेड यस सिजनमा शुरुका दुई खेलपछि नै संकटमा परेको छ । क्लबले राम्रा खेलाडी किन्न नसकेको र सहि प्रशिक्षक समेत ल्याउन नसकेको भन्दै रोनाल्डोले युनाइटेडमा पुनरागमनको एक बर्ष नपुग्दैदेखि असन्तुष्ट रहदै आएका छन् ।




