काठमाडौँ, भदौ ३ । ब्राजिलका लेफ्टब्याक मार्सेलोले सन्यास लिने तयारी गरेका छन् । ३४ बर्षिय मार्सेलोले रियल म्याड्रिड छोडेपछि अहिले क्लबविहिन रहेका छन् । गत जुनमा रियल म्याड्रिडमा सम्झौता सकिएपछि क्लब छोडेका मार्सेलोले अब नयाँ क्लबसँग सम्झौता नगर्ने सोचमा रहेको मिडिया रिपोर्टहरुमा उल्लेख गरिएको छ ।
रियल म्याड्रिडमा १५ बर्ष बिताएका मार्सेलोले अबको यात्रा आफ्नो लगानी रहेका दुई क्लबको प्रवर्धन गर्ने रहेको बताइएको छ । मार्सेलोको ब्राजिलको क्लब अजुरिज र पोर्चुगलको दोस्रो डिभिजन क्लब माफ्रामा लगानी रहेको छ । उनले दुवै क्लबको प्रशिक्षण स्तरलाई वृद्धि गर्ने र आफ्नो लामो क्यारियरको अनुभवलाई लगाउने तयारी गरेको मिडिया रिपोर्टमा उल्लेख छ ।
यद्यपी मार्सेलोलाई इटालियन क्लब एसी मिलान, फ्रेन्च क्लब लियोन, ला लिगा क्लब भल्लाडोलिड लगायत अमेरिकी लिग र कतार तथा टर्कीका क्लबहरुले आकर्षक प्रस्ताव गरेका थिए ।
त्यस्तै मार्सेलोले सन्यास लिएमा रियल म्याड्रिडले उनलाई क्लबको एम्बासडरको भूमिकामा नियुक्त गर्नसक्ने पनि बताइएको छ । यो भूमिका दिएर मार्सेलोलाई रियल म्याड्रिडको संस्थागत प्रतिनिधित्व गराउने रियलले अफर गरेको समेत बताइएको छ ।
रियल म्याड्रिडका १६ सिजनमा ५४६ खेल खेलेका मार्सेलोले ३८ गोल समेत गरेका छन् । यस अवधिमा उनले रियलका लागि ५ च्याम्पियन्स लिगसहित कुल २५ उपाधि जितेका छन् ।




