चुनावको मुखैमा प्रहरी सरुवा-बढुवामा करोडौंको चलखेल,आरजु देउवाको प्रत्यक्ष संलग्नता

`

     २०७९ श्रावण २६ गते १०:२४

काठमाडौं,श्रावण २६, बिहिबार। चुनावको मुखैमा नेपाल प्रहरीमा बिचौलिया हावी हुँदा प्रहरी सरुवा बढुवामा करोडौंको चलखेल भईरहेको छ। जसकारण बिचौलियाको चलखेलबाट प्रहरी महानिरीक्षक धिरजप्रताप सिंह समेत दिक्क भएका छन् ।

बिचौलियाको चलखेल र प्रहरी हस्तक्षेपले प्रहरी अस्तव्यस्त बनेको छ । बढुवा मात्र नभई सरुवामा पनि राजनीतिक बिचौलिया हावी भएका छन् । कतिसम्म भने एक सय ३१ डिएसपीको सरुवा निकालेकै भोलिपल्ट काज निकालिएको छ । बिहीबार आठ डिएसपीको काज निकालिएको हो । केही पावरफुल डिएसपीलाई उनीहरुले रोजेको कार्यालयमा पठाउन यसरी काज गरिएको हो । चलखेलका कारण प्रहरीमा काज विकृती मौलाएको छ ।

पछिल्लोपटक एसपी र डिएसपीको सरुवामा ठूलो आर्थिक चलखेल भएको छ । जसमा प्रधानमन्त्रीपत्नी आरजु देउवा प्रत्यक्ष रुपमा सहभागी भएका छन् । भूषण राणा र रामचन्द्र भट्टले आरजु मार्फत तथा महेन्द्र यादब, रामहरी खतिवडा लगायतले गृहमन्त्री बालकृष्ण खाँणमार्फत सरुवामा आर्थिक चलखेल गर्दै आएका छन् । सोही कारण डिएसपी सरुवामा पैसा कमाउने र बुझाउनेहरु हावी भए इमान्दार प्रहरी अधिकृतहरु किनारा लागेका छन् । प्रहरी महानिरीक्षकले १–२ जनालाई पनि आफूले चाहेको ठाउँमा पठाउन नसकेको स्रोत बताउँछ । यसपटक उपत्यकाका १० वटा वृत्तका प्रमुख फेरिए । जसमा कोही शक्तिकेन्द्रमार्फत त कोही पैसाको चलखेल गरेर त्यहाँ पुगेका छन् । लैनचौर वृत्तमा पुगेका गणेश बम कार्यक्षमतामा कमजोर मानिन्छन्, तर भानु देउवाको कारण उनी त्यहाँ पुगेका हुन् । कांग्रेस नेता नारायणसिंह खड्का र एक न्यायाधीशको सिफारिसमा कोपिला चुँडाल दरबारमार्ग वृत्त पुगेकी छिन् । डिएसपी अंगुर जिसी स्वभाविक रुपमा वृत्तको दाबेदार हुन् तर उनले पनि कांग्रेस नेताकोमा पुगेर मात्र पोष्टिङ पाएको स्रोत बताउँछ ।

मालीगाउँ वृत्तमा पुगेका तर्कराज पाण्डेय बिचौलियामार्फत सरुवा भएका हुन् । सोही कारण इन्चार्जबाट उनको इन्चार्जमै सरुवा भयो । बालाजु वृत्तका रबिन बिष्ट चलखेलकै आधारमा गएका हुन् ।कांग्रेस नेता मोहन बस्नेत लगायतको आशिवार्दमा हरि बस्नेत बौद्ध पुगे भने अख्तियारको सिफारिसमा संजीवबाबु खड्का गौशाला वृत्त पुगेका छन् । यसअघि महाराजगञ्ज बसिसकेका गोविन्द पुरीलाई सिंहदबार वृत्त दिइएको छ । इप्रका र जिल्ला गएकाहरु पनि सबैजसो चलखेलकै आधारमा पुगेका छन् ।

एक जानकार प्रहरीका अनुसार सरुवाका आकांक्षीहरुका डिल गर्न बिचौलियाहरु आफैं पुग्ने गरेका छन् । जसअनुसार कतिपय सरुवामा ५० लाखमाथि सम्मका लेनदेनहरू भएका छन् । बाँकेमा सरुवाका लागि पनि न्यूनतम ५० लाख रेट राखेर मोलतोल भइरहेको स्रोत बताउँछ । पैसा बुझाएर जान चाहेनलाई आइजिपीले रोकेकाले सरुवा निस्कन नसकेको हो । यसअघि लेखापाल सरुवामा पनि ठूला आर्थिक चलखेल भएको छ । सबैजसँग पैसा उठाएर लेखापालको अवधि ६ वर्षबाट ८ वर्ष बनाइएको थियो । गृह मन्त्रालयकै नेतृत्वमा यस्तो चलखेल भएको थियो । सिडिओ तथा प्रहरी सरुवामा बिचौलिया र म्याडमहरुको रजगज चलिरहेको छ । सरुवामा सेटिङ मिलाउनकै लागि पूजा सिंहलाई एआइजमिा बढुवा मानवस्रोत विभागमा राखिएको छ ।

यो तहको लेनदेन प्रहरीको सरुवा–बढुवामा पहिले कहिल्यै थाहा नभएको प्रहरी अधिकारीहरु बताउँछन् । सिपाहीको सरुवामा समेत पैसा उठाउने गरिएको छ । चुनावको मुखमा प्रहरी संगठनमा भएको यस्तो भ्रष्टीकरणले शान्ति सुरक्षामै असर पर्ने जोखिम देखिएको छ । पैसा बुझाएर तराईका जिल्लामा गएकाहरु तस्करीको लाइन खोल्न थालिसकेका छन् । गृहमन्त्रीका साथी वीरगञ्जका प्रमोद शर्माले सरुवाका नाममा मोटो रकम उठाएका छन् । उनको बास नै गृह मन्त्रालय र मन्त्री निवासमा हुने गरेको छ । शर्मा र गृहमन्त्री बालकृष्ण खाणका पिए नरेन्द्र केसीको चलखेलले प्रहरी अस्तव्यस्त भइसकेको छ ।

पैसा उठाउनेमा सिंगो गृह मन्त्रालय केन्द्रीत भएपछि आगामी दिनमा सुरक्षाको अवस्था के होला भन्ने चिन्ता थपिएको छ । ‘बिशेष ब्यूरोले प्लेन नै रोकेर सामान्य व्यापारीलाई पक्राउ गर्नु यही चलखेलको परिणाम हो,’ एक प्रहरी अधिकारी भन्छन्,‘अब यही तरिकाले नेपाल प्रहरीको अवस्था नगरपालिकाको प्रहरी जस्तो हुनेछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?