काठमाडौँ, साउन २६ । डेभिड अल्बा र करिम बेन्जेमाको गोलमा रियल म्याड्रिडले बुधबार इन्ट्राख्ट फ्रांकफर्टलाई २–० ले पराजित गर्दै यूईएफए सुपरकप जितेको छ । रियलले यो उपाधि जितेको पाँचौं पल्ट हो ।
कार्लो एन्सेलोटीको रियलले लिभरपुललाई हराएर पछिल्लो सिजन युरोपेली च्याम्पियन्स लिग जितेको थियो । युरोपा लिग विजेता फ्रायन्कफर्टमाथिको अहिलेको जितमा अल्बाले ३७ औं मिनेटमा पहिलो गोल गरे । दोस्रो हाफको ६५ औं मिनेटमा बेन्जेमाले दोस्रो गोल थपे । रियलका लागि फ्रान्सेली खेलाडीको यो ३ सय २४ औं गोल हो । यससँगै उनले रियलका लागि सर्वाधिक गोल गर्ने खेलाडी सूचीमा राउललाई उछिनेका छन् ।
अब उनका अगाडि ४ सय ५० गोल गरेका रोनाल्डो मात्र छन् । बेन्जेमा यस प्रदर्शनपछि बेलन डे’अरका लागि अझ बलिया प्रत्यासी पनि भएका छन् । फ्रांकफर्टले भने यूईएफए सुपरकप पहिलो पल्ट खेलेको हो ।




