बैतडीमा पहिलोपटक कोरोना कोष स्थापना गरिने

`

     २०७९ श्रावण २२ गते १०:०५

काठमाडौँ, साउन २२ । बैतडीमा पहिलोपटक कोरोना कोष स्थापना गरिने भएको छ । कोरोना जोखिम नियन्त्रणका लागि जिल्लामा ५ लाख बराबरको कोष स्थापनाको तयारी भएको हो ।

प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीका अनुसार जिल्लाका प्रत्येक स्थानीय तहबाट रु ५० हजारका दरले जम्मा गरी पाँच लाख बराबरको कोष स्थापना हुने भएको छ । यहाँ १० स्थानीय तह छन् । केही दिन अगाडि विपद् व्यवस्थापन समितिको बैठकले कोरोना कोष स्थापना गर्ने निर्णय गरेको हो ।

सङ्क्रमणको चौथो लहरको जोखिम बढिरहेकाले पूर्वतयारी गर्न थालिएको हो । उनले भने, “सीमा नाकामा कोरोना परीक्षण गर्दा पोजेटिभ देखिएकाहरुलाई होल्डिङ सेन्टरमा राख्दा र उनीहरुलाई सम्बन्धित ठाउँमा पुर्‍याउन लाग्ने पैसा सो कोषबाट खर्च गरिनेछ ।” कोरोना कोष स्थापना गरेर त्यसको व्यवस्थापन गर्ने जिम्मा स्वास्थ्य कार्यालयलाई दिइएको छ ।

विपद् व्यवस्थापन समितिको बैठकले प्रत्येक स्थानीय तहमा होल्डिङ सेन्टर र आइसोलेसन, क्वारेन्टिन निर्माण गरिने, कोरोनाविरुद्धको खोप लगाउन छुटेका नागरिकलाई खोपको दायरमा ल्याउने, जिल्लामा सञ्चालनमा रहेका एम्बुलेन्सहरूको लगत यथाशीघ्र जिल्ला एम्बुलेन्स व्यवस्थापन समितिको सचिवालयमा पेस गर्ने निर्णय गरेको छ ।

यसैगरी प्रत्येक स्थानीय तहमा स्थानीय आपत्कालीन कार्य सञ्चालन केन्द्र स्थापना गर्ने निर्णय भएको छ । भारतसँग सीमा जोडिएको बैतडीमा हालसम्म ३ हजार तीन सय ६९ जनामा कोरोना सङ्क्रमण पुष्टि भइसकेको छ । कोरोनाकै कारण यहाँ १९ जनाले ज्यानसमेत गुमाइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?