काठमाडौँ, १९ साउन । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७८ को नतिजा भर्खरै सार्वजनिक गरेको छ । परीक्षामा ४ लाख ९५ हजार ७५१ जना विद्यार्थी सहभागी भएका थिए । जसमा ३.६ जिपिएसम्म ल्याउने विद्यार्थीको सङ्ख्या ९६३३ रहेको छ भने कमजोर मानिने (सी) १.६ देखि २ जिपिए भन्दा मुनिका जिपिए ल्याउने विद्यार्थी सङ्ख्या लगभग १ लाख ५० हजार रहेका छन् । जसमध्ये सामुदायिक विद्यालयबाट मात्रै ३ लाख ४० हजार १ सय ९६ जनाले परीक्षा दिएका थिए । शैक्षिक सत्र २०७६/७७ मा आन्तरिक मूल्याङ्कनबाट नतिजा सार्वजनिक गरेको बोर्डले शैक्षिक सत्र २०७८ को परीक्षा कोभिड-१९ महामारीको कारण दुई वर्षपछि भौतिक रूपमा सञ्चालन गरेको थियो ।
कक्षा ११ मा भर्ना पाउनको लागी ग्रेडिङ विधि अनुसार विद्यार्थीले पढ्न चाहेको विषयमा भर्ना हुन कक्षा १० मा अनिवार्य विषय अंग्रजी, गणित, विज्ञान, नेपाली र सामाजिकमा न्यूनतम डी प्लस तथा ११ कक्षामा विज्ञान समूह भर्ना हुन अनिवार्य विज्ञान र गणित विषयमा ‘सी प्लस’ ल्याउनै पर्ने बाध्यकारी व्यवस्था रहेको छ । ‘सी प्लस’ भन्नाले ५० देखि ६० प्रतिशत अङ्क बराबर हो । जुन अङ्क प्राप्त गर्न विद्यार्थीलाई अत्यन्त कठिन छ ।
कोभिड महामारीका कारण महिनौँ शिक्षण संस्था बन्द हुँदा विद्मार्थीहरु अध्ययन गर्नबाट वञ्चित हुनुपर्यो । जसकारण अधिकांश विद्मार्थीहरु राम्रो अङ्क ल्याई उत्तीर्ण हुने सम्भावना एकदमै न्यून रह्यो । यसको सबै भन्दा बढी प्रभाव सामुदायिक विद्यालयमा पर्न गयो । जहाँबाट लगभग ७० प्रतिशत विद्मार्थीहरुले परीक्षामा भाग लिएका थिए । कोभिड सङ्क्रमणकै कारण भौतिक उपस्थितिमा पठनपाठन गर्न नपाएपछि करिब १ लाख ५० हजार विद्यार्थीहरु ‘सी’ ग्रेड भन्दा मुनिको अङ्क ल्याउन बाध्य भए । जसको प्रत्यक्ष असर विज्ञान विषय लिएर अध्ययन गर्न चाहने विद्मार्थीलाइ पर्न गएको छ । कोभिड सङ्क्रमणकै कारण विद्मार्थीहरुले विज्ञान विषय पढ्ने अवसर गुमाउनुपर्ने बाध्यकारी अवस्था सिर्जना भएको छ । यस अवस्थामा समग्र असरको जिम्मेवारी सरकारले लिई यस पटकलाई (एसईई) मा ‘सी’ ग्रेड ल्याउन बाध्य विद्यार्थीलाई पनि विज्ञान विषय लिएर पढ्न पाउने अवसर दिइनुपर्दछ । अन्यथा लाखौँ विद्यार्थीमाथि अन्याय हुनेछ । जसको नकारात्मक असर विद्यार्थीको भविष्यमाथि पर्नेछ । यस विषयमा सम्पूर्ण सरोकारवाला निकायहरूको ध्यान पुग्न अत्यन्तै जरुरी छ ।
सम्पादकीय



