एजेन्सी, साउन १६ । फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)ले सोमबार बिहान भएको खेलमा लिग वान प्रतिद्धन्द्धी नान्टेसमाथि ४-० गोल गरी फ्रेन्च सुपर कपको उपाधि जितेको छ ।
पीएसजीलाई सिजनको पहिलो उपाधि जिताउन ब्राजिली फरवार्ड नेयमारले २ तथा अर्जेन्टिनी फरवार्ड लियोनेल मेस्सी र स्पेनिस डिफेन्डर सर्जियो रामोसले गोल गरे
खेलको २२औं मिनेटमा मेस्सीको गोलबाट पीएसजीले अग्रता बनाएको थियो । पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको पाँचौ मिनेटमा नेयमारले फ्रिकिकमा दर्शनीय गोल गर्दै पिएसजीको अग्रता दोब्बर पारे ।
५७औं मिनेटमा रामोसले गोल गरेपछि पिएसजी सहज जिततर्फ अग्रसर बन्यो । मेस्सीको हाफ भली प्रहारलाई गोलरक्षक लाफन्टले बचाएपनि राम्रोसँग क्लियर हुन नसकेको बललाई रामोसले ब्याकहिलमार्फत गोल गर्न सफल भएका थिए । ८२औं मिनेटमा नेयमारले गोल गर्दै पीएसजीलाई सानदार जित दिलाए । यो सँगए पीएसजीले सर्वाधिक ११ पटक उपाधि जितेको छ ।
फ्रान्समा नयाँ सिजन शुरु हुनुअघि फ्रेन्च लिग च्याम्पियन र कप डि फ्रान्स च्याम्पियनबीच प्रस्पर्धा गराइन्छ ।




