काठमाडौँ, साउन १२ । काभ्रे जिल्लामा डेङ्गु रोगको सङ्क्रमण बढ्दै गएको छ । करिब महिनाअघि पाँचखालमा देखिएको डेङ्गुको सङ्क्रमण हाल ३ स्थानीय तहको ९ जनामा पुष्टि भइसकेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
काभ्रेपलाञ्चोकमा ३ वर्षपछि गत असार दोस्रो साता पाँचखालमा भेटिएका डेङ्गु सङ्क्रमित जिल्ला बाहिरका हुन् । ती व्यक्तिमा स्थानीय स्वास्थ्य संस्थामा मलेरिया परीक्षण गर्न जाँदा डेङ्गु रोगको सङ्क्रमण भेटिएको थियो ।
कार्यालय प्रमुख डा पुरुषोत्तम सेढाईंका अनुसार हालसम्म जिल्लाको तीन स्थानीय तहमा डेङ्गु रोगको सङ्क्रमण भेटिएको हो । “करिब एक महिनाको अवधिमा नौ जनामा डेङ्गु रोगको सङ्क्रमण देखिएको छ, हामी रोगको स्रोतको सर्च एण्ड डिस्ट्रोय गर्ने अभियानमा छौँ”, सेढाईंले भने ।
सङ्क्रमित नौ जनामध्ये मध्ये काभ्रेपलाञ्चोकको धुलिखेलका तीन, पनौतीका दुई र बनेपाका एक हुन् । यस्तै दोलखाका एक र सिन्धुपाल्चोकका दुई रहेको जनाइएको छ । काडामाडौँमा उपचाररत सङ्क्रमितको अवस्था गम्भीर रहेकाले आइसियुमा राखिएको सेढाईंले बताए ।
यसैबीच जिल्ला स्वास्थ्य कार्यालय र नगरका स्वास्थ्य टिमले डेङ्गु सङ्क्रमणको स्रोतबारे स्थानीयस्तरमा अनुगमन गरिरहेको छ । साथै, सङ्क्रमितलाई निगरानीमा राखी उपचार तथा अन्य गतिविध बढाइएको कार्यालयले जनाएको छ । डेङ्गुको सङ्क्रमणले महामारीको रुप नलियोस् भन्ने उद्देश्यले काभ्रेपलाञ्चोकको तीनै स्थानमा कार्यालयको र्यापिड टिमले अनुगमन तथा सम्भावित परीक्षण गर्ने जनाएको छ ।




