काभ्रे जिल्लामा डेङ्गु रोगको सङ्क्रमण बढ्दौ

`

     २०७९ श्रावण ०२ गते १०:४३

काठमाडौँ, साउन २ । काभ्रे जिल्लामा ३ वर्षपछि तीन स्थानमा लामखुट्टेको टोकाइबाट लाग्ने डेङ्गु रोगको सङ्क्रमण देखिएको छ । पाँचखालमा देखिएको डेङ्गुको सङ्क्रमण हाल धुलिखेल र पनौती क्षेत्रमा पनि देखिएको हो ।

पनौती नगरपालिका–५ सुब्बागाउँका एक ६८ वर्षका पुरुष डेङ्गुको सङ्क्रमणका कारण धुलिखेल अस्पतालमा २ दिनदेखि उपचारत छन् । पनौती नगरका स्वास्थ्य शाखा प्रमुख पुरुषोत्तम तिमल्सिनाका अनुसार सङ्क्रमित ती पुरुषको स्वास्थ्य अवस्था उपचार सुरु गरिएपछि सुधारोन्मुख रहेको छ ।

यस्तै केही दिनअघि सदरमुकाम धुलिखेलमा पनि एक पुरुषमा डेङ्गु रोगको सङ्क्रमण देखिएपछि उनलाई निगरानीमा राखी उपचार गरिएको जिल्ला स्वास्थ्य कार्यालय धुलिखेलले जनाएको छ । लामो समयपछि पाँचखालमा पहिलो डेङ्गु रोगको सङ्क्रमण देखिएलगत्तै यसका लक्षण तथा बच्ने उपायबारे प्रचारप्रसारमा लागिएको तथा स्वास्थ्यकर्मीलाई ‘हाइअलर्ट’मा बस्न भनिएको छ ।

लामखुट्टेको टोकाइबाट डेङ्गु रोग लाग्ने व्यक्तिलाई एक्कासि उच्च ज्वरो आउने र पाँचदेखि सात दिनसम्म ज्वरो रहने, सहन नसक्नेगरी टाउको दुख्ने, आँखाको नानी तथा पछिल्लो भाग राख्नुका साथै ढाड, जोर्नी र माम्सपेसी दुख्ने, शरीरमा बिमिरा आउने तथा वाकवाकी लाग्ने, पेट दुख्ने, नाक अथवा गिजाबाट रगत बग्नु, शरीरमा रगत जमेको दाग देखा पर्नु तथा बेहोस हुने लक्षण देखिन्छ ।

काभ्रेमा यसअघि विसं २०७६ भदौ दोस्रो साता डेङ्गुको सङ्क्रमण देखिएको थियो । त्यसबेला खानीखोला गाउँपालिकामा सङ्क्रमित एक पुरुष भेटिएसँगै जिल्लाका छ जनामा सङ्क्रमण देखिएपछि तत्काल उपचारमा लगिएको थियो । छ सङ्क्रमितमध्ये चारको टेकु अस्पताल र दुईको धुलिखेल अस्पतालमा उपचार गराइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?