भारतीय गायकको हत्यारालाई गोली हान्न नेपालमा दिल्ली प्रहरीको ‘गोप्य अपरेशन’

`

     २०७९ ज्येष्ठ २० गते ८:२१

काठमाडौं, २० जेठ । पञ्जाबका गायक सिद्धू मुसेवालाको हत्या प्रकरणमा पक्राउ परेका दुईजनाको बयानका आधारमा सिद्धूलाई गोली हान्ने सुटरसँग जोडिएका व्यक्ति नेपालमा हुनसक्ने आशंकामा दिल्ली प्रहरीको स्पेशल सेलले नेपालमा गोप्य अपरेशन चलाइरहेको स्रोतको दाबी छ । भारतीय प्रहरीले पञ्जाबका गायक सिद्धू मुसेवालाको हत्यामा संलग्न व्यक्ति नेपाल प्रवेश गरेको हुनसक्ने आशंका गरेको छ । आइतबार पञ्जाबको मानसा जिल्लास्थित जवाहर्के गाउँमा अज्ञात व्यक्तिले मुसेवालाको गोली हानी हत्या गरेका थिए । पञ्जाब सरकारले उनको सुरक्षा फिर्ता लिएको एक दिनपछि उनको हत्या हो ।

आक्रमणकारी खुला सीमाको फाइदा उठाउँदै नेपाल प्रवेश गरेको गोप्य सूचनाको आधारमा दिल्ली प्रहरीको टोली शुक्रबार नेपाल आइपुगेको स्रोतलाई उद्धृत गर्दै इण्डिया टुडेले उल्लेख गरेको छ । नेपाल प्रहरीका उच्च अधिकारीहरुले चाहिँ भारतीय प्रहरीको टोली नेपाल आएकाबारे औपचारिक जानकारी नभएको बताएका छन् । तर, अनौपचारिक कुराकानीमा एक अधिकृतले भारतीय प्रहरीले नेपालमा पनि केन्द्रीत भएर अनुसन्धान गरिरहेको अनलाइनखबरसँग बताए । मुसेवालाको हत्यामा संलग्न भएको आरोपमा दुई जनालाई पक्राउ गरिएको भनिएको केही घण्टामै भारतीय प्रहरी नेपाल आइपुगेको जनाइएको छ । गायक मुसेवाला मारिएको दुई दिनपछि मंगलबार पञ्जाब पुलिसले पवन विष्णुई र खानलाई नामक दुई युवालाई पक्राउ गरेको थियो । उनीहरुले घटनामा प्रयोग भएको बोलेरो गाडी उपलब्ध गराएको प्रहरीको आरोप छ ।

गायक मुसेवालाको हत्यामा संलग्न भएको आशंकामा भारतीय प्रहरीले कुख्यात लागूऔषध तस्कर मनप्रित सिंहलाई पक्राउ गरेको थियो । उनलाई हिरासतमा लिएर अनुसन्धान गरिरहेका वेला दुईजना युवा पक्राउ परेका थिए । सिंहले नै ती युवालाई गाडी उपलब्ध गराएको प्रहरीको आरोप छ । गायकको हत्याको जिम्मेवारी लरेन्स विश्नोई ग्याङले लिएको छ । क्यानडामा गएर पढेर भारत फर्किएका थिए ।

भारतीय एक टिभी च्यानलमा बोल्दै ग्याङकातर्फबाट सचिन थपन नामक व्यक्तिले घटनाको जिम्मेवारी लिँदै सिद्धूको हत्या ‘पब्लिसिटी स्टनट’ वा ‘असूली’का लागि नभइ पञ्जाबका युवा नेता विक्की मिदुखेराको हत्यामा संलग्नलाई सेल्टर दिएको बदला लिइएको उल्लेख गरेका थिए । विक्कीले कुनै वेला लरेन्स विश्नोईलाई सहयोग गरेको भारतीय प्रहरीको भनाइ छ । त्यसैले यो सद्धूको हत्या दुई आपराधिक समूहबीचको द्वन्द्वको परिणाम भएको अनुसन्धान अधिकृतहरुको बुझाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?