काठमाडौं जेठ २०। गत वैशाख महिनामा रोजगारीका लागि विदेश जाने नेपाली श्रमिकको संख्या १० हजार जनाले घटेको छ । वैशाख महिना भर विदेशिने नेपालीको संख्या ४५ हजार ४ रहेको वैदेशकि रोजगार विभागले जनाएको छ । जबकी चैत महिनामा ५५ हजार ५२३ जना नेपाली रोजगारीका लागि विदेश गएका थिए ।
फागुनमा भन्दा चैतमा विदेश जान श्रम स्वीकृति लिनेको संख्या २ हजारले घटेको थियो । चैतमा दैनिक औसत १ सय ८५० जना श्रमिक विदेश गएकोमा चैतमा त्यो संख्या १५ सयमा झरेको छ ।
वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या गत जेठयता लगातार उकालो लागिरहेकामा पुसबाट घट्न सुरु गरेको थियो । गत वैशाख महिनामा २३३१७ जना नेपाली नयाँ श्रम स्वीकृति लिएर विदेश गाएका थिए भने बाँकीले पुरानै श्रम स्वीकृति नवीकरण गरेका थिए ।
२०७८ चैत महिनामा बाहिरिएका साढे ५५ हजारमध्ये २७ हजार १५६ जनाले नयाँ श्रम स्वीकृति लिएका थिए भने अन्यले श्रम स्वीकृति नवीकरण गरेका थिए ।
गत पुस महिनामा दैनिक औसत वैदेशिक रोजगारीमा जानेको संख्या करिब २ हजार र मंसिरमा २ हजार ५ सय थियो । पुस महिनामा ६६ हजार ६२५ जना श्रमिकले वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएका थिए ।
वैदेशिक रोजगार विभागका अनुसार कोरोना महामारीका कारण दुई वर्षयता वैदेशिक रोजगारीमा आएको संकट हट्दै गएपछि विदेशिने नेपालीको संख्या नियमित गतिमा फर्किएको छ ।
अहिले पनि खाडी मुलुक कतार, साउदी अरेबिया र यूएईमा जाने नेपालीको संख्या धेरै छ । कुवेत, ओमान लगायतका देशमा पनि नेपालीहरु गइरहेका छन् ।
विभागका अनुसार २०७८ वैशाखमा २४ हजार ३६३ जना नेपाली रोजगारीका लागि विदेश गएका थिए । तर, २०७८ को जेठमा विदेशिने नेपालीको संख्या घटेर ४ हजार ८६ मा सीमित भएको थियो । असारमा २० हजार ६५८ जना नेपालीले विदेश जान श्रम स्वीकृति लिए । विभागका अनुसार गत साउनमा २५ हजार ४२८ जना, भदौमा ३६ हजार ४० जना, असोजमा ३९ हजार ६७१ जना र कात्तिक महिनामा ५४ हजार ९१८ जना नेपाली कामका लागि विदेश उडेका थिए ।




