काठमाडौँ, जेठ ४ । एमालेका सांसद् योगेश भट्टराईले विद्युत् प्राधिकरण टाट पल्टिने अवस्थामा गएको जनाएको छ ।
प्रतिनिधिसभा बैठकमा बुधबारबाट सुरु भएको आर्थिक वर्ष २०७९/८० का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) माथिको छलफलमा सहभागी हुँदै उनले यस्तो कुरा बताएका हुन् ।
‘अहिले पनि हामी मित्र राष्ट्रबाट महँगोमा बिजुली किनिरहेका छौं, आयात गरिरहेका छौं । महँगोमा किनेको बिजुली हामीले बेच्दा सस्तोमा बेचेका छौं । यसले क्रमशः विद्युत् प्राधिकरण टाट पल्टिने अवस्थामा जाँदै छ,’ भट्टराईले भने ।
प्राधिकरणलाई जोगाउने विषयमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामा नपरेको भन्दै उनले देशभित्र र बाहिरबाट ऊर्जामा लगानी बढाउनु पर्नेमा जोड दिए ।