तत्काल खारेज गर्न माग पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि

`

     २०७९ ज्येष्ठ ०१ गते ३:०३

काठमाडौं,जेठ १ । संयुक्त विद्यार्थी संगठनले आइतबार काठमाडौंमा पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि खारेज गर्न सरकारसँग माग गर्दै विरोध प्रदर्शन गरेको छ । पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर १० रुपैयाँका दरले मूल्यवृद्धि गरेलगत्तै सो संगठनले नेपाल आयल निगमको केन्द्रीय कार्यालय टेकुमा पुगेर अविलम्ब खारेज गर्न सरकारसँग माग गर्दै विरोध प्रदर्शन गरेको हो ।

जनताको जीवननै धान्न नसक्ने गरी सरकारले मूल्यवृद्धि गरेकाले तत्काल खारेज गर्न माग गर्दै नेकपा (क्रान्तिकारी माओवादी) निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) का अध्यक्ष हरिकृष्ण गजुरेलले विरोध प्रदर्शन गर्नुपरेको बताए । उनले सो मूल्यवृद्धि तत्काल खारेज नभए जन आन्दोलनको आँधीबेहरी सृजना गरी वर्तमान सरकारनै ध्वस्त पारिदिने चेतावनी समेत दिए ।

विरोध प्रदर्शनमा उत्रिएकाहरुले ‘जनता मार्न पाईंदैन, मूल्यवृद्धि चाहिँदैन,’ ‘मूल्यवृद्धि तत्काल खारेज गर’ भन्दै सरकारविरुद्ध चर्का नाराबाजी लगाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?