काठमाडौँ, २८ वैशाख । वाणिज्य बैंकहरूले जेठमा ब्याजदर बढाउँदा पनि थप निक्षेप नआउने भएकाले निक्षेपको ब्याजदर नबढाउने भएका छन् । यसका लागि वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघले बुधबार निर्णय गरिसकेको छ ।
‘ब्याजदर बढाएर मात्र निक्षेप बढ्ने होइन । यसले ब्याजदरमा अस्थिरता मात्र बढाउँछ,’ बैंकर्स संघका कार्यकारी निर्देशक अनिल शर्माले भने, ‘यसकारण जेठका लागि पनि वैशाखकै बराबर ब्याजदर प्रकाशित गर्ने सहमति भएको छ ।’ गत फागुनमा निक्षेपको ब्याजदर बढाएका वाणिज्य बैंकहरुले चैत र वैशाखमा पनि स्थिर राखेका थिए ।
अब जेठ महिनाका लागि पनि वैशाखकै ब्याजदर कायम राख्ने भएका हुन् । जसअनुसार वाणिज्य बैंकहरुले हाल एक वर्षे व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ११.०३ प्रतिशत तोकेका छन् । गत माघको तुलनामा फागुनमा बैंकहरुले मुद्दती निक्षेपको ब्याजदर ०.९८ प्रतिशत बिन्दुले बढाएका थिए । फागुनमा वाणिज्य बैंकहरुले संस्थागत एक वर्षे मुद्दती निक्षेपको अधिकतम ब्याजदर १०.०३ प्रतिशत र साधारण बचतको ६.०३ प्रतिशत कायम गरेका थिए । सहमति अनुसार बैंकहरुले सोही ब्याजदर प्रकाशित गर्ने भएकाले जेठ महिनाका लागि पनि निक्षेपकर्ताले उल्लेखित ब्याजदर नै पाउने छन् ।




