स्थानीय तह सबल र सक्षम नभई मुलुकको विकास र समृद्धि सम्भव छैन : मन्त्री शर्मा

`

     २०७९ वैशाख २६ गते १०:२३

काठमाडौँ, २६ वैशाख । अर्थमन्त्री जनार्दन शर्माले आसन्न स्थानीय निर्वाचन प्रतिगामी र प्रगतिशील शक्तिबीचको लडाइँ भएको बताएका छन् ।

उनले भनेका छन्, ‘तपाईंको हरेक एक मतले राष्ट्रको स्वाधीनता, सार्वभौमिकता, भौगोलिक अखण्डता, संविधान र लोकतन्त्रको रक्षा, सामाजिक न्यायसहितको समृद्धिको एजेन्डा संस्थागत गर्न निर्णायक भूमिका खेल्नेछ ।’

वैशाख ३० गते ७ सय ५३ वटै पालिकामा जनताका असली प्रतिनिधि चयन गर्ने ऐतिहासिक दिन मात्र नभएर निर्वाचन जनताको सर्वोच्चतालाई स्थापित गर्ने महत्वपूर्ण माध्यम र अवसर भएको उनले बताएका छन् । नेकपा (माओवादी केन्द्र)का नेतासमेत रहेका शर्मा भन्छन्, ‘स्थानीय तहहरू सामान्य सरकार होइनन् । यी त स्थानीय लोकतन्त्र, स्थानीय विकास, स्थानीय सेवा प्रवाह र स्थानीय शासनका केन्द्रबिन्दु हुन । स्थानीय तह संघीय संरचनामा संघीयताको लाभ जनतालाई प्रत्यक्ष रूपमा अनभूत गराउने प्रस्थानबिन्दु पनि हुन् । नागरिकको सबैभन्दा नजिकको शासकीय इकाइ स्थानीय तह सबल र सक्षम नभई मुलुकको विकास र समृद्धि सम्भव छैन । आम नागरिकमा सुशासनको प्रत्याभूति गराउने मुख्य कर्तव्य रहेको स्थानीय तहको महत्व असीमित छ । संघीयताको प्रभावकारिता मापन गर्न स्थानीय तहको प्रभावकारिता हेर्नुपर्छ ।’

स्थानीय तहको कार्यसम्पादनले मुलुकको समग्र समृद्धिको प्रतिनिधित्व गर्नुपर्ने भएकाले सबल, सक्षम, क्षमतावान्, सुशासनयुक्त र प्रभावकारी स्थानीय तह अहिलेको आवश्यकता भएको शर्माको जिकिर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?