काठमाडौँ, वैशाख १८ । नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले बन्द्र प्रशिक्षण छाडेर गएका खेलाडीलाई टिममा सामेल गर्न नसकिने आइतबार बताएका छन् ।
अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव इन्द्रमान तुलाधरलाई पत्र लेख्दै उनले ती खेलाडीलाई कुनै कारबाही नगर्न भने अनुरोध गरेका छन् ।
अल्मुताइरीले एसियाकप छनोट तेस्रो चरणको बन्द प्रशिक्षणमा रहेका खेलाडीलाई आफू छोड्न नभनेको र खेलाडीले नै आफूखुसी छाडेर गएको आरोप लगाएका छन् । त्यस अगाडि १० खेलाडीले पत्रकार सम्मेलन गर्दै प्रशिक्षकले आफूहरूलाई प्रशिक्षण छाडेर जान भनेको दाबी गरेका थिए ।
त्यस विवादपछि अल्मुताइरीले १७ खेलाडी थप गर्दै राष्ट्रिय टिमको प्रशिक्षणलाई निरन्तरता दिएका छन् ।




