आर्थिक वृद्धिदर ५.८ प्रतिशत हुने प्रक्षेपण

`

     २०७९ वैशाख १५ गते १:३५

काठमाडौँ, वैशाख १५ । केन्द्रीय तथ्यांक विभागले चालु आर्थिक वर्षका लागि ५.८ प्रतिशत आर्थिक वृद्धिदर हासिल हुने प्रक्षेपण सार्वजनिक गरेको छ । चालु आर्थिक वर्षको वार्षिक बजेटमार्फत सरकारले ७ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्य राखेको थियो ।

चालु आर्थिक वर्षका लागि प्रतिव्यक्ति कुल गार्हस्थ उत्पादन १ हजार ३७२ अमेरिकी डलर र प्रतिव्यक्ति राष्ट्रिय आय १ हजार ३८१ अमेरिकी डलर बराबर रहेको छ ।

आर्थिक वर्ष २०७८/७९ को वार्षिक राष्ट्रिय लेखा अनुमान सार्वजनिक गर्दै उक्त वृद्धिदर हासिल हुने जनाएको हो । चालु आर्थिक वर्षको ९ महिना अवधिको यथार्थ तथ्यांक र बाँकी तीन महिनाको अनुमानका आधारमा यो तथ्यांक सार्वजनिक गरेको विभागले जनाएको छ ।

यस आर्थिक वर्षमा कृषि क्षेत्र २.३ प्रतिशत र गैरकृषि क्षेत्र ६.९ प्रतिशतले बढ्ने अनुमान गरिएको छ । आधार मूल्यका आधारमा अहिले नेपालको अर्थतन्त्रको आकार ४१ खर्ब ५ अर्ब ५४ करोड र उपभोक्ता मूल्यका आधारमा ४८ खर्ब ५१ अर्ब ६२ करोड रहेको पनि विभागले जनाएको छ । चालु आर्थिक वर्षका लागि आयात २० खर्ब र निर्यात ३ खर्ब २० अर्ब बराबर हुने पनि विभागले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?