काठमाडौं, बैशाख १५ । भारतबाट बिजुली ल्याउन नसकेपछि नेपाल विद्युत् प्राधिकरणले औपचारिक रूपमै औद्योगिक क्षेत्रमा लोडशेडिङ (विद्युत् कटौती)गर्न थालेको छ । बुधवार पूर्वसूचना दिएरै प्राधिकरणले औद्योगिक क्षेत्रमा विद्युत् कटौती गर्न थालेको हो । अभाव शुरू भएसँगै प्राधिकरणले अघोषित (सूचना नदिई) रूपमा औद्योगिक क्षेत्रमा विद्युत् कटौती गर्दै आएको थियो । तर, बुधवारदेखि पूर्वसूचना दिएरै काट्न थालेको हो ।
बुधवार बिहान १० बजेबाट ४८ घण्टासम्म अर्थात दुई दिन औद्योगिक क्षेत्रमा विद्युत् कटौती हुने प्राधिकरणले सूचित गरेको छ । यस अवधिमा फरक फरक समयमा विद्युत् कटौती हुनेछ । कुनै उद्योगमा दैनिक १२ र कुनैमा १६ घण्टासम्म विद्युत् कटौती हुने प्राधिकरणको भनाइ छ ।
नेपालमा १५ वर्षदेखिको लोडशेडिङ २०७५ वैशाख ३१ गते अन्त्य भएको थियो । भारतबाट बिजुली ल्याएर आपूर्ति दिइरहेको प्राधिकरणले त्यहाँ पनि किन्न नपाएपछि समस्या आएको जानकारी दिएको छ । सुक्खायाममा नेपालमा विद्युत् उत्पादन कम हुन्छ । यो बेला घरेलु माग धान्न भारतबाट आयात गर्नुपर्छ । पछिल्लो समय भारतमै विद्युत् उत्पादन घटेको छ । आर्थिक अभियान दैनिकबाट




