काठमाडौँ, २७ चैत्र । नेपाल बैंकर्स संघले एक हप्तासम्म विलासी वस्तुहरुको प्रतितपत्र (एलसी) पुर्ण रुपमा बन्द गर्ने निर्णय गरेको छ ।
आज बसेको संघको बैठकले वैशाखामा निक्षेपको ब्याजदर स्थिर राख्ने र सँगै एक हप्तालाई अत्यावश्यक बाहेकका वस्तुहरुको एलसी नखोल्ने निर्णय गरेको हो । विदेशी मुद्राको सञ्चिति घट्दा अर्थतन्त्र समस्यामा पर्न सक्ने भन्दै राष्ट्र बैंकले विलासिताका वस्तुहरुको एलसी नखोल्न भनेको छ ।
‘राष्ट्र बैंकले केही समयलाई विलासिताका वस्तुहरुको एलसी नखोल्न भनेको हो, कहिलेसम्म नखोल्नु भन्ने कुरा उल्लेख भएको थिएन,’ बैंकर्स संघका एक सदस्यले भने, ‘कम्तीमा एक हप्ता चाहिँ अत्यावश्यक बाहेकका वस्तुहरुको एलसी ठप्पै पारौं भन्ने निर्णय भएको हो ।’
राष्ट्र बैंकले केही दिन पहिले सबैं बैंकका सीईओहरुलाई बोलाएर एलसी नखोल्न मौखिक निर्देशन दिएको थियो ।




