काठमाडौँ, २१ चैत्र । नेपालले त्रिकोणीय टी-२० सिरिज जितेको छ । सोमबार किर्तिपुरस्थित क्रिकेट मिदानमा सम्पन्न फाइनल खेलमा नेपालले पपुवा न्युगिनीलाई ५० रनले पराजित गर्दै त्रिकोणात्मक सिरिज जितेको हो ।
नेपालले दिएको १६९ रनको लक्ष्य पछाएको पपुवा न्युगिनी १६.२ ओभरमा अल आउट हुदै ११८ रन मात्र बनाएको थियो ।
पपुवान्यूगिनीका लागि सेसे बाउले ५९ रन बनाए भने चार्लेज अमिनीले १५ रन बनाएका थिए । पपुवा न्युगिनीका अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेका थिएनन् ।
त्यसैगरी नेपाली बलर दिपेन्द्र सिंह ऐरीले सर्बाधिक ४ विकेट लिए । दिपेन्द्रले ४ ओभरमा १८ रन दिएर ४ विकेट लिएका हुन् ।
त्यस्तै करण केसीले ३ विकेट लिएका थिए भने सन्दीप लामिछानेले २ विकेट लिए ।
यसअघि टस हारेर पहिला ब्याटिंग गरेको नेपालले २० ओभरमा ६ विकेट गुमाउदै १६८ रन बनाएको थियो ।




