काठमाडौं, चैत १७ । आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचन हुँदैछ। निर्वाचनको मिति नजिकिए सँगै सरकारले विशेषगरी गृह मन्त्रालय अन्तर्गत कतै प्रहरीको सरुवा बढुवा त कतै सीडीओको सरुवामा बढी ध्यान दिइरहेको छ। सरकारले हतारिएर चलखेलका आधारमा बढुवा गरिएको भन्दै नेपाल प्रहरीको डिआइजीहरु बढुवा गरिएका एआइजीहरु विरुद्ध अदालत पुगेका छन्। सिनियर डिआइजीहरुलाई अन्याय गरेर चलखेलका आधारमा बढुवा गरिएको भन्दै पीडित डिआइजीहरु अदालत पुगेका हुन्। डिआइजीहरु घनश्याम अर्याल, ईश्वरबाबु कार्की र प्रकाशजंग कार्की अदालत गएका हुन । उनीहरु सिनियर हुँदा हुँदै पनि सरकारले जुनियरलाई बढुवा गरेको थियो । जसकारण अहिले एआइजी बढुवा चरम विवादमा फसेको छ ।
बढुवामा विवाद हुँदा हुँदै बढुवा गरेकै दिन बिहीबार तीनै एआइजीलाई प्रहरी महानिरीक्षकले फुली लगाइदिएको छ । बसन्त कुमार पन्त, धीरजप्रताप सिंह र रबिन्द्र धानुकलाई प्रहरी महानिरीक्षकले बिहीबार नै फुली लगाइदिएका छन् । बढुवा विवादास्पद बनेपछि अदालतले रोक्न सक्ने सम्भावना भएको भन्दै हतार हतार फुली लगाइएको हो । सात वर्षअघि जस्तै एआइजी बढुवा विवादमा परेको छ । जसकारण सरकार नै यसबाट बदनाम हुन पुगेको छ । निश्चित व्यक्तिहरुलाई बढुवा गर्न दरबन्दी थपेको भन्दै सुरुदेखि नै यसमा विवाद भएको थियो । यसअघि भर्खर प्रहरी प्रधान कार्यालयले ३६ जना डीएसपीको विभिन्न स्थानहरुमा सरुवा गरिसकेको छ।
त्यस्तै,गृह मन्त्रालयले विभिन्न जिल्लाका सीडीओहरुको पनि सरुवा गरेको छ। जसअनुसार बर्दिया, प्यूठान, अर्घाखाँची र कपिलवस्तुका सीडीओहरुको सरुवा भएको हो। गृहमन्त्रालय स्रोतका अनुसार बर्दियामा बन्धुप्रसाद बास्तोला, प्यूठानमा सुनिता नेपाल, अर्घाखाँचीमा शशिधर घिमिरे र कपिलवस्तुमा धर्मेन्द्र कुमार मिश्रलाई सीडीओ बनाएर पठाइएको छ ।




