काठमाडौँ, ९ चैत्र । अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेन युद्धमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन ‘भित्तामा पुगेको’ प्रतिक्रिया दिएका छन् ।
राष्ट्रपति बाइडेनले रुसी सेनाको मनोविज्ञान कमजोर हुँदै गएकाले पुटिनले युक्रेनमा जैविक तथा रासायनिक अस्त्र प्रयोग गर्न सक्ने बताएका छन् । त्यसको तयारीका लागि युक्रेनमा जैविक तथा रासायनिक हतियार रहेको भन्दै रुसी अधिकारीले झूटा खबर फैलाएको उनको दाबी छ ।
अमेरिकाले युरोपमा जैविक तथा रासायनिक अस्त्र भण्डारण गरेको रुसी दाबी झूटो भएको बाइडेनको भनाइ छ । ‘यस्ता दाबीले बरु रुस त्यस्ता हतियार प्रयोगको तयारीमा रहेको संकेत गर्छ,’ बाइडेनले भने ।
पुटिनले अमेरिकाविरुद्ध साइबर आक्रमणको तयारी गरिरहेको पनि बाइडेनको दाबी छ । रुसी आक्रमण रोक्न अमेरिकाले सबै प्रकारका प्रयास गर्ने उनले बताए ।




