काठमाडौं, चैत ६ । प्रहरी नायब महानिरीक्षक घनश्याम अर्याल, ईश्वरबाबु कार्की र प्रकाशजंग कार्कीले गृह मन्त्रालयको सिफारिसविरूद्ध लोकसेवा आयोगमा उजुरी दिएका छन्। गृह मन्त्रालयले नेपाल प्रहरीमा तीन जना एआइजी बढुवा सिफारिस गरेपछि तीन जना प्रहरी नायब महानिरीक्षक (डिआइजी)ले लोकसेवा आयोगमा उजुरी गरेका हुन्। वरिष्ठता र कार्यक्षमताका आधारमा हुनुपर्ने बढुवामा मनपरी गरिएको भन्दै तीन जना डिआइजीले लोकसेवा आयोगमा उजुरी गरेका हुन्।
तीन जना प्रहरी नायब महानिरीक्षक (डिआइजी)लाई प्रहरी अतिरिक्त महानिरीक्षक(एआइजी) बढुवाको लागि गृह मन्त्रालयले चैत १ गते सिफारिस गरेको थियो। उक्त सिफारिसमा डिआइजी वसन्तकुमार पन्त, धिरजप्रताप सिंह र रवीन्द्रबहादुर धानुक परेका थिए। नेपाल प्रहरीको नियमावलीविपरीत र स्वेच्छाचारी ढंगले बढुवा भएको ठहर गर्दै डिआइजीहरू लोकसेवा कार्यालय पुगेका हुन्। ‘यो बढुवा प्रहरी नियमावलीको विपरीत छ नै, राजनीतिक शक्तिकेन्द्रले रोजेका व्यक्तिहरू बढुवामा परेका छन्,’ एक डिआइजीले भने।
प्रहरी महानिरीक्षक, गृह मन्त्रालयका सचिव र प्रधानमन्त्री कार्यालयका सचिव एआइजी बढुवा समितिमा रहन्छन्। समितिले सिंह, पन्त र धानुकलाई एआइजी बढुवा गर्ने सिफारिस गरेका थिए। उक्त समितिमा सदस्यसचिव रहेका प्रहरी महानिरीक्षक शैलेश थापा क्षत्रीले बढुवा सिफारिसमा लाहाछाप लगाएका थिए। लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीले एआइजी बढुवाउपर उजुरी परेको बताए। बढुवा सिफारिसमा परेका पन्त कार्यक्षमतामा अत्यन्तै कमजोर मानिन्छन्। उनीभन्दा कार्यक्षमतामा बलियो मानिएका कार्कीद्वय बढुवा सूचीमा अटाएनन्। पन्त साथै पछाडिको ब्याचमा अत्यन्तै कमजोर कार्यक्षमता भएका धानुकलाई बढुवा सूचीमा समावेश गरिएकोमा उनीहरूको आपत्ति छ।
अर्थमन्त्री जनार्दन शर्माको जोडबल धानुकलाई बढुवा गर्नमा थियो। शर्माले धानुकलाई समावेश गर्ने सर्तमै एआइजी बढुवाको ‘अर्थ गाँठो’ फुकाइदिएका थिए। अर्थमन्त्री शर्माले सिफारिस गरेका धानुकलाई समेट्दा कार्यक्षमतामा अब्बल मानिएका डिआइजी उत्तमराज सुवेदी सिफारिसमा छुटेका छन्। सुवेदीलाई समेट्न प्रहरी महानिरीक्षक क्षत्रीले जोड गरे पनि गृह नेतृत्वले नमानेको स्रोतले बतायो। यी तीनै बढुवा सिफारिसमा प्रहरी महानिरीक्षक शैलेश थापा क्षत्री सन्तुष्ट नभएको प्रधान कार्यालय स्रोत बताउँछ। ‘आइजिपी क्षत्री पन्तको ठाउँमा कार्कीद्वय वा अर्याललाई सिफारिस गर्न चाहन्थे र धानुकको ठाउँमा सुवेदीलाई,’ प्रहरी प्रधान कार्यालय स्रोतले भन्यो, ‘त्यसविपरीत गृह नेतृत्वबाट सूची आएपछि आइजीले खाली कागजमा सही गरेर हिँड्नुभएको हो।’
२०७९ वैशाख १९ मा अहिलेका प्रहरी महानिरीक्षक शैलेश थापा क्षत्री, एआइजी हरिबहादुर पाल, प्रद्युम्न कार्की र निरजबहादुर शाहीले अवकाश पाउँदैछन्। उनीहरू अवकाशमा जाँदा भावी प्रहरी महानिरीक्षकमा एआइजी विश्वराज पोखरेल र सहकुल थापा प्रतिस्पर्धामा रहन्छन्। उनीहरूकै ब्याचबाट एआइजी बढुवामा समावेश भएका सिंह र धानुक पनि प्रहरी महानिरीक्षकको प्रतिस्पर्धामा रहन्छन्। गृहले एआइजी सिफारिस गरेका पन्त क्षत्रीको ब्याचमेट हुन्, उनीसँगै पन्त रिटायर्डमा जान्छन्। त्यसपछि हुने आइजीको प्रतिस्पर्धामा पोखरेल, थापा, सिंह र धानुक हुनेछन्। वर्तमान सरकारले पोखरेल र थापालाई विश्वास नगरेका कारण उनीहरूकै ब्याचबाट सिंह र धानुकलाई बढुवामा समेटेको बुझिएको छ।
यदि पोखरेल प्रहरी महानिरीक्षक भए ११ महिना कुर्सीमा रहनेछन्। पोखरेल महानिरीक्षक नभए उनी डिआइजी र एआइजीको ५६ वर्षे उमेर हदका कारण २०७९ साउन १९ मा अवकाशमा जान्छन्। उमेरका कारण एआइजी थापा भने पूरा कार्यकाल रहन्छन्, त्यो त्यही ११ महिना नै हो। अहिले एआइजी बढुवा सूचीमा परेका सिंह पनि ११ महिना नै कुर्सीमा बस्नेछन्। तर, धानुक एआइजी बढुवा भए पनि २०७९ असोज ७ मा उमेर हदका कारण अवकाशमा जान्छन्। हालका आइजिपी क्षत्रीसँगै एआइजीमा बढुवामा समेटिएका पन्त वैशाखमा अवकाशमा जान्छन्। अहिले एआइजी बढुवामा असन्तुष्टि व्यक्त गर्दै लोकसेवा आयोगमा उजुरी गरेका अर्याल र कार्कीद्वय पनि आइजी क्षत्रीसँगै वैशाख १९ गते अवकाशमा जानेछन्।



