काठमाडौँ, ६ चैत्र । पछिल्ला वर्षहरुमा श्रम स्वीकृति लिएर नेपालमा काम गर्न आउने चिनियाँ कामदारको संख्या ह्वात्तै बढेको छ ।
श्रम स्वीकृति लिएर चीनमा काम गर्न जाने नेपालीको संख्याभन्दा साढे चार गुनाभन्दा बढी चिनियाँहरु नेपालमा काम गर्न आउने गरेको पाइएको छ ।
श्रम तथा व्यवसायजन्य सुरक्षा विभागका अनुसार सन् २०१७ देखि २०२२ मार्च १९ सम्म्मको अवधिमा ६ हजार १०० चिनियाँले नेपालमा काम गर्न श्रम स्वीकृति लिएका छन् ।
नेपालमा काम गर्न आउने विदेशी नागरिकलाई श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले श्रम स्वीकृति प्रदान गर्नेगर्छ ।
वैदेशिक रोजगार विभागका अनुसार सोही अवधिमा वैदेशिक रोजगारीको सिलसिलामा चीन जान १ हजार ३१६ जनाले श्रम स्वीकृति लिएका छन् ।
‘देश भित्र अहिले चिनियाँ लगानीमा धेरै प्रोजेक्टहरु सञ्चालन भइरहेका छन् । ती प्रोजोक्टमा काम गर्न चीनले आफ्ना नागरिक ल्याएको छ । यसैकारण अन्य देशको तुलनामा चिनियाँ कामदर बढी देखिएको हो,’ श्रम तथा व्यवसायजन्य सुरक्षा विभागका महानिर्देशक उमाकान्त आचार्यले भने ।
चिनियाँपछि नेपालमा श्रम स्वीकृति लिएर काम गर्न आउने ठूलो संख्या बेलायती, अमेरिकी, जापानी र दक्षिण कोरियालीहरुको छ । सो अवधिमा नेपालमा काम गर्न ४१६ जना बेलायती, २५० जना अमेरिकी, १८३ दक्षिण कोरियाली र १३० जना जापानीले श्रम स्वीकृति लिएका छन् । उक्त अवधिमा विश्वका ९९ देशका नागरिकले नेपालमा काम गर्न श्रम स्वीकृति लिएका छन् ।
विभागका अनुसार आर्थिक वर्ष २०७७/७८ मा ११२, २०७६/७७ मा १९१, २०७५/७६ मा ४४८, २०७४/७५ मा ३३१ र २०७३/७४ मा २३१ जनाले चीन जानको लागि श्रम स्वीकृति लिएका थिए ।




