पाँच वर्ष भित्र जापानले भारतमा ४२ अर्ब डलर लगानी गर्ने

`

     २०७८ चैत्र ०६ गते ८:०७

एजेन्सि, ६ चैत्र । जापानले पाँच वर्ष भित्रमा भारतमा ४२ अर्ब अमेरिकी डलर लगानी गर्ने भएको छ।

भारत भ्रमणमा रहेका जापानी प्रधानमन्त्री फुमिओ कासिदाले शनिबार जापानको नयाँ लगानीबारे जानकारी दिएका हुन्।

समाचार संस्था एएफपीका अनुसार पद सम्हालेपछि पहिलो पटक भारत भ्रमणमा आएका कासिदाले शनिबार समकक्षी नरेन्द्र मोदीसँग द्वीपक्षीय वार्ता गरेका थिए।

वार्ताका क्रममा आर्थिक सहायतादेखि चीन-भारत सीमाको अवस्था र युक्रेनमाथि रूसले गरेको आक्रमणसम्मका विषयमा कुराकानी भएको थियो।

जापानले रूसी आक्रमणको विरोध गर्दै आएको छ भने भारत अहिलेसम्म यसबारे मौन बसेको छ। प्रधानमन्त्री कासिदाले कुराकानीको क्रममा आफूले मोदीलाई रूसको यो एक पक्षीय आक्रमणलाई स्वीकार गर्न नहुने बताएको जानकारी दिएका छन्।

यी दुई मुलुकबीच सन् २०१९-२०२० मा झन्डै १२ अर्ब डलर बराबरको व्यापार भएको थियो। त्यसमा भारतले झन्डै ८ अर्ब डलरको सामान आयात गरेको थियो भने चार अर्ब डलर बराबरको सामान निर्यात गरेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?