उखु किसानले ४ वर्षदेखिको भुक्तानी पाएनन्, उखुको अभावमा ४ वटा मिलमा २ मिल बन्द

`

     २०७८ चैत्र ०४ गते १:१६

काठमाडौँ, ४ चैत्र । पश्चिम नवलपरासीका उखु किसानले चार वर्षदेखिको बक्यौता रकम पाएका छैनन् ।

जिल्लाको इन्दिरा सुगर मिलले २ करोड रुपैयाँभन्दा बढी रकम भुक्तानी गर्न बाँकी छ । उधारोमा उखु खरिद गरेर रकम नदिने र उद्योग पनि सञ्चालन नगर्दा किसान थप समस्यामा परेका छन् । इन्दिरा सुगर मिल तीन वर्षदेखि बन्द छ । ‘उद्योगी सम्पर्कमा नआउने र उद्योग पनि बन्द भएपछि बाँकी रकम माग्नका लागि कहाँ जाने भन्ने अन्योलमा छौं,’ प्रतापपुर गाउँपालिका–५ का रामकरण चौधरीले भने, ‘सीडीयो कार्यालय र नेताहरूकहाँ पटक–पटक रकम भुक्तानीका लागि गए पनि अहिलेसम्म काम भएको छैन ।’

उद्योगका सञ्चालक राकेश अग्रवाललाई प्रहरीले गत वर्षको माघमा जिल्ला अदालत नवलपरासीमा ठगी मुद्दा दायर गरेको थियो ।

सरकारले ढिलो गरेर मूल्य निर्धारण गर्दा किसानले उद्योगलाई अघिल्लो वर्षको मूल्यमा तत्काल उखु बिक्री गर्ने र बढेको मूल्य उद्योगले थप गर्ने गरेका छन् । सोहीअनुसार वाग्मती चिनी उद्योगले करिब ४० लाख रुपैयाँ किसानलाई दिनुपर्ने भए पनि अहिलेसम्म भुक्तानी भएको छैन । उखु उत्पादक किसान समितिले विज्ञप्तिमार्फत तत्काल किसानको रकम भुक्तानी दिनुपर्ने र नदिएमा उद्योगीलाई कारबाही गर्न माग गरेको छ ।

पाँच–सात वर्षअगाडिसम्म प्रशस्त उखु उत्पादन हुने जिल्लामा अहिले उत्पादन घटेको छ । जसका कारण वर्षमा तीन महिना सञ्चालन हुने उद्योग अहिले मुस्किलले एक महिना मात्र सञ्चालन हुने गरेका छन् । ४ वटा मिलमध्ये वाग्मती चिनी उद्योग र लुम्बिनी सुगर मिल सञ्चालनमा छन्, भने इन्दिरा सुगर मिल र मोहिनी सुगर मिल बन्द भएको छ ।

सञ्चालनमा रहेका दुई उद्योगलाई पनि पर्याप्त उखु नहुँदा पूर्ण क्षमतामा सञ्चालन गर्न नसकिएको उद्योगी बताउँछन् । जिल्लामा उत्पादनमा कमी आएपछि कपिलवस्तुदेखि उखु ल्याएर उद्योग सञ्चालन गरिरहेको लुम्बिनी चिनी उद्योग सुनवलका कार्यकारी प्रमुख केशवराज आचार्यले बताए ।

जिल्लामा सबैभन्दा धेरै २०५९ सालमा ४५ लाख क्विन्टल उखु उत्पादन भएको थियो । गत वर्षसम्ममा २० लाखमा झरेको छ । विगतमा १२ हजार हेक्टरबाट उखु खेती गरिएकामा अहिले ५ हजार हेक्टर क्षेत्रफलमा मात्रै उखु खेती गरिंदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?