काठमाण्डौं, चैत ३ । गत बिहीबार चीन र नेपाल दुई देशका सीमा अधिकारीबिच आयात बढाउन भर्चुअलमार्फत् सघन छलफल भएपश्चात अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढीबाट बुधबारदेखि आयात बढेको छ। । चिनियाँ पक्षले छलफलमा नेपालतर्फ हुने सामानको आयात बढाउन सहमती जनाएको थियो। सहमतीअनुसार बुधबार १४ चिनियाँ गाडिमा सामान भित्रिएको रसुवा भन्सार कार्यालय टिमुरेका भन्सार प्रमुख रामप्रसाद मैनालीले जानकारी दिए। यसअघि चिनियाँ पक्षले दैनिक बिहान सात र बेलुका दुई गरी नौवटा चिनियाँ गाडिमा नेपाल सामान पठाइरहेको थियो। बुधबारदेखि चीनले थप पाँच गाडीबाट सामान पठाउन थालेको हो। अब बिहान र बेलुका दुई सिफ्टमा सातरसात गरी १४ वटा चिनियाँ गाडिबाट नेपाल सामान आयात हुने मैनालीले बताए। यो सहमतिलाई निरन्तरता दिने चिनिया पक्षले बताएको उनले उल्लेख गरे।
कोरोनाको कारण देखाउँदै चीनले सुरुमा आफ्नै गाडीमा तीन कन्टेनर सामान ल्याउन सुरु गरेको थियो। एउटा चिनियाँ गाडिमा आएको सामान दुई वटा नेपाली कन्टेनरमा लोड गर्ने गरिएको छ। चिनियाँ गाडिमा आएको सामाग्री नेपाली गाडिमा लोड–अनलोड गर्न स्वास्थ्यका मापदण्ड अपनाउँदै नेपाली कामदार नाकामा खटिएका छन्। यद्यपि, चीनले कोरोनाको कारण देखाउँदै अझै सहज रुपमा नाका संचालन गरेको छैन। चीनबाट रसुवागढी नाका हुँदै सहज रुपमा नेपाल सामान आयात गर्न नसक्दा व्यापारीहरु समस्यामा परेका छन्।
२०७६ माघ १५ गतेसम्म नेपाली कन्टेनर चीनमै पुगेर आयात तथा निर्यात गर्ने गरेका थिए। त्यसयता भने नेपाली व्यवसायी र कन्टेनर चिनियाँ भू–भाग पुगी सामान आयात–निर्यात गर्न पाएका छैनन्। सुरुमा ल्होसारलाई कारण देखाउँदै चीनले रसुवागढी नाकाबाट आयात निर्यात ठप्प गरेको थियो। लगत्तै कोरोना महामारीका कारण बन्द नाका २०७७ जेठ २२ सम्म बन्द भयो। त्यसपश्चात चीनले नाका एकतर्फी संचालन गरेको छ। चीनको केरुङबाट रसुवागढी नाका हुँदै अहिले नेपालतर्फ रेडिमेड कपडा, स्याउ, इलेक्ट्रोनिक र जलविद्युतलगायतका सामाग्री नेपाल भित्रिने गरेको छ। नेपालबाट केरुङतर्फ हस्तकलाका सामाग्रीहरु जाने भएपनि कोरोना संक्रमण सुरु भएयता चीनले एकतर्फी नाका खुल्ला गरेसँगै नेपालबाट हुने निर्यात भने शून्य छ।




