माओवादी केन्द्रको महासचिव जनार्दन बन्लान् त,कसले मार्ला बाजी

`

     २०७८ फाल्गुन २० गते ३:००

काठमाडौं, फागुन २०। नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक शुक्रबार देखि सुरु हुँदैछ । बैठकको मुख्य एजेण्डा केन्द्रीय कमिटी विस्तारसँगै पदाधिकारी चयन र कार्यविभाजन रहेको छ । बैठक बस्ने समय जतिजति घर्किँदैछ, त्यतित्यति नै सो पार्टीमा पद प्राप्तिका लागि दौडधुप पनि बढ्दै छ। माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेता नारायणकाजी श्रेष्ठबीच पदाधिकारी चयन तथा कार्यविभाजनमा भागबण्डाका लागि बार्गेनिङ चलिरहेको छ ।

माओवादी अध्यक्ष प्रचण्ड र श्रेष्ठबीच फागुन १७ गते र आज बिहान गरी दुई पटक छलफल भएको छ । एमसीसी पारित सँगै नेता श्रेष्ठले असन्तुष्टि जनाउँदै आएका छन् । श्रेष्ठले एमसीसीमा असन्तुष्टि जनाए पनि उनको चाहना पार्टीमा हुन गइरहेको पदाधिकारी चयन र कार्यविभाजनमा बार्गेनिङ नै हो भन्ने टिप्पणी भइरहेको छ । पदाधिकारीमध्ये पनि महासचिवका लागि ठुलो हानथाप भइरहेको छ। महासचिवको दौडमा नारायणकाजी पक्षका कोही छैनन् । अध्यक्ष प्रचण्डसँगको भेटमा श्रेष्ठले पार्टीमा महासचिव कसलाई बनाउने भन्ने आफ्नो सरोकारको विषय होइन, तर अन्य पद सम्मानजनक पाउनुपर्ने माग गरेको बताइएको छ । उनले एमसीसीको विषयमा पनि असन्तुष्टि जनाउँदै पार्टीको बैठकमा यसबारे व्यापक छलफल हुनुपर्ने भनेका छन् ।

नेकपा माओवादी केन्द्रमा एकजना अध्यक्ष, एकजना वरिष्ठ उपाध्यक्ष, सात जना उपाध्यक्ष, एक जना महासचिव, दुईजना उपमहासचिव, तीन जना सचिव र एक जना कोषाध्यक्ष रहने प्रावधान छ । तर अहिले अन्य पदभन्दा पनि सो पार्टीमा महासचिव को बन्ने भन्नेमै सबैको चासो देखिन्छ । महासचिवका लागि जनार्दन शर्मा, वर्षमान पुन, देव गुरुङ, पम्फा भुसाल, कृष्णबहादुर महरा, शक्तिबहादुर बस्नेतलगायतले चासो देखाइरहेका छन् । तर तीमध्ये जनार्दन शर्मा र वर्षमान पुनबीच कडा प्रतिस्पर्धा देखिएको छ । प्रचण्ड पक्षका एक नेताले भने, ‘कृष्णबहादुर महरालाई उपाध्यक्ष दिएर प्रचण्डले मिलाउन सक्नु हुन्छ । पम्फा भुसाल र देव गुरुङलाई सचिव अथवा उमहासचिवमा मिलाउन सक्नु हुन्छ तर जनार्दन शर्मा र वर्षमान पुनलाई मिलाउन उहाँलाई गाह्रो छ ।’

निकट स्रोतका अनुसार नारायणकाजी श्रेष्ठले वरिष्ठ उपाध्यक्षमा बस्ने चाहना राखेको बुझिएको छ । हुन त वरिष्ठ उपाध्यक्ष पद कृष्णबहादुर महरालाई पनि चाहिएको छ तर प्रचण्डलाई लागि महराको व्यवस्थापन गर्न कुनै समस्या नरहेको ती नेताको बुझाइ छ । जनार्दन शर्मा र वर्षमान पुनले सहमतिमै महासचिव पाउनु पर्ने दावी गर्दै आएका छन् । यदि सहमतिमा नभए प्रतिस्पर्धा गर्न पनि तयार रहेको उनीहरु दुवैले बताउँदै आएका छन् । गत पुसमा माओवादी केन्द्रको महाधिवेशन चलिरहँदा वर्षमान पुन उपचारका लागि चीनमा थिए । यहाँ केन्द्रीय समिति निर्माणसँगै पदाधिकारी चयनको चर्चा सुरु भएपछि उनले चिनियाँ उपमन्त्री चेन झाओसँग भेटवार्ता गरेको तस्बिर सार्वजनिक गरेका थिए । राजनीतिक विश्लेषकहरुका अनुसार नेता पुनले आफू उपचारमा रहेको बेला पनि महाधिवेशनमा आफ्नो उपस्थिति देखाउन त्यो फोटो सार्वजनिक गरेका थिए । पार्टीमा आफ्नो प्रभाव देखाउन त्यो बेलाको तस्बिर पर्याप्त थियो । त्यही भएर उनी महाधिवेशनमा उपस्थित नहुँदा पनि महासचिवमा उनको चर्चा थियो । उनी चीनबाट उपचार गराएर नेपाल आएपछि उनको चर्चा बढ्न थाल्यो ।

एमसीसी संसदबाट पारित भएपछि पार्टीमा जनार्दन शर्माको ग्राफ बढेको र वर्षमान पुनको ग्राफ घटेको विश्लेषण भइरहेको छ । एमसीसीका कारण प्रचण्ड अप्ठ्यारोमा परेको बेला जनार्दन शर्माले उनलाई खुलेर साथ दिएका थिए तर वर्षमान पुन त्यति खुलेका थिएनन् । पार्टीका नेताहरुका अनुसार वर्षमान पुनले खुलेर एमसीसीको विरोध नगरे पनि प्रचण्डलाई खुलेर साथ पनि दिएका थिएनन् । यस अर्थ पनि महासचिवमा जनार्दन शर्मा र वर्षमान पुनमध्ये एक जनालाई रोज्ने अवस्था प्रचण्डलाई आयो भने उनले जनार्दनलाई नै रोज्ने एकथरीको भनाइ छ । तर प्रचण्डलाई वर्षमान पुन पनि चाहिन्छ ।

जनार्दन शर्मा र वर्षमान पुन महासचिवका लागि कडा प्रतिस्पर्धा देखिएको कारण अध्यक्ष प्रचण्ड पनि दबाबमा परेका छन् । सो दबाबका कारण उनी अहिले पदाधिकारी चयन नगर्ने पक्षमा छन् । प्रचण्ड निकट एक जना केन्द्रीय सदस्यले भने, ‘महासचिवका लागि जुनको खालको दबाब प्रचण्डमाथि परेको छ, त्यसले गर्दा उहाँ पदाधिकारी नै चयन नगर्ने पक्षमा देखिनुभएको छ ।’

भोलिदेखि बस्ने केन्द्रीय कमिटीको बैठकमा केन्द्रीय समिति विस्तार गर्दै पोलिटब्युरो तथा स्थायी कमिटी बनाउने तयारीमा अध्यक्ष प्रचण्ड लागेका छन् । त्यसका लागि उनले आफ्ना निकट नेताहरुसँग परामर्श पनि थालिसकेका छन् । यद्यपि, नारायणकाजी श्रेष्ठ पक्षका नेताहरुले केन्द्रीय कमिटीको बैठकबाट पदाधिकारी चयनका लागि विशेष जोड दिएका छन् । तर प्रचण्ड त्यसलाई टार्ने प्रयासमा छन् ।

पार्टीका लागि महासचिव पद महत्वपूर्ण भएकाले सबैको चासो त्यसमा जानु स्वाभाविक भएको माओवादी केन्द्रका केन्द्रीय सदस्य लीलामणि पोखरेलले बताए। तर महासचिव को बन्छन् भन्दा पनि सहमतिमै बनाउनु पर्ने उनको भनाइ छ । उनले भने, ‘संगठनका लागि महासचिव पद महत्वपूर्ण पद हो, त्यसैले मान्छे चयन गर्दा सबै कुरामा ख्याल गर्नुपर्छ तर म फलानै व्यक्ति हुनुपर्छ भन्ने पक्षमा छैन, जो हुन्छन् सहमतिमा हुनुपर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?